२९ आश्विन २०८३, बिहिबार

चुरे संरक्षण क्षेत्र घोषणाः स्वागत र विरोधमा घम्साघम्सी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fecofunकाठमाडौ, ५ असार । नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा बुधबार बिहान छैठौं राष्ट्रिय सामुदायिक वनगोष्ठी हुँदै थियो।

सहजकर्ता ध्रुव आचार्यले पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक अखिलेश्वरलाल कर्णलाई वन क्षेत्रको रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्न अनुमति दिए। कर्ण मञ्चमा उक्लिनै लागेका थिए, दर्शकदीर्घामा हल्लाखल्ला सुरु भयो।

सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी र सदस्यले ‘चुरे संरक्षणका नाममा सरकारले समिति बनाएर उपभोक्ता अधिकारमाथि कुठाराघात गर्‍यो, संरक्षण क्षेत्रका नाममा उपभोक्ता अधिकार खोस्न खोजियो’ भन्दै नाराबाजी गरे।

महासंघ अध्यक्ष गणेश कार्कीले १० मिनेट बोल्ने समय मागे। सहजकर्ता आचार्यले अनुमति दिए।

कार्की मञ्चमा उक्लेर भने, ‘चुरेबासीको अधिकार कुण्ठित भयो। उनीहरूको जीविकामा असर पर्ने भयो। वन मन्त्रालय र विभागअन्तर्गतका कर्मचारीको कार्यक्षेत्र खोसियो। यो हाम्रालागि कालो दिन हो।’

उनले सरकारद्वारा मंगलबार व्यवस्थापिका संसदमा घोषित ‘चुरे वातावरण संरक्षण क्षेत्र’ को धुन्धान विरोध गरे। भने, ‘सरकारको आधिकारिक धारणा नआएसम्म फ्लोर रोक्नुपर्छ। हामी गोष्ठी अगाडि बढ्न दिन्नौं।’

कार्यक्रम नियन्त्रण बाहिर गएपछि आचार्यले ३० मिनेटलाई सबै प्रस्तुति स्थगित गरे। त्यत्तिकैमा महासंघका पदाधिकारी र सदस्य मञ्चअगाडि गएर नारा लगाउन थाले। उनीहरूले संरक्षण क्षेत्र घोषणा र अधिकारसम्पन्न ‘राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति’ गठनको विरोधमा झन्डै १० मिनेट नाराबाजी गरे। नागरिक दैनिकबाट