२९ आश्विन २०८३, बिहिबार

गैरदलितले दलितलाई नै मन्दिरको पुजारी बनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pujariबैतडी, ५ असार । दलितलाई मन्दिर प्रवेशमा रोकका घटना भइरहने सुदूरपश्चिममा गैरदलितले दलितलाई नै मन्दिरको पुजारी बनाएर प्रसाद ग्रहण गर्ने गरेका छन् । जातीय सद्भाव देखाउँदै यहाँको बनारसी देउता मन्दिरमा दलित पुजारीबाट प्रसाद लिने परम्परा छ ।

सुरनया नदी किनारमा पर्ने गुजर ८ स्थित मन्दिरमा सबै जातजातिकाले पूजामा सहभागी भएर प्रसाद उनैबाट लिन्छन् ।

सोराडका दर्जन गाविसको धार्मिक आस्था केन्द्र उक्त मन्दिरमा परम्परादेखि नै दलित पुजारीका हातबाट प्रसाद लिने सद्भाव परम्परा रहेको हो । मन्दिरमा माघ शुक्ल द्वितीयाका दिन ठूलो जात्रा लाग्ने गरेको छ । अन्य मन्दिरका जात्रा सकिएपछि बनारसीमा पूजा लाग्दै आएको हो । दलित पुजारी हुने मन्दिरमा ब्राह्मण र क्षेत्री थरकाले अनिवार्य सहभागी हुने परम्परा छ । ‘गैरदलितले निर्धक्कसँग पूजा सामग्री चढाएर प्रसाद लिन्छन्’, दलित अगुवा तथा स्थानीय रमेश कोलीले भने ।

धार्मिक सहिष्णुताको नमुना बनेको यो मन्दिरमा दलितले पूजा गरेपछि मात्रै देउता खुसी हुने विश्वास छ । ‘दलित पुजारीका घरमा कुनै अशुभ भए पूजापाठै चल्दैन’, स्थानीय मानबहादुर बिष्टले भने, ‘जातीय भेदभाव गर्नु हुँदैन भन्ने परम्पराले नै देखाएको छ ।’

मनोकामना पूरा हुने विश्वासले छिमेकी जिल्लाबाट समेत पूजापाठका लागि आउने भक्तजन मन्दिर पुग्ने गरेका छन् । माघमा ठूलो पूजा लागे पनि अन्य बेलामा समेत पूजा गर्ने र बलि दिनेको संख्या उल्लेख्य हुने गरेको स्थानीय नारु भाटले बताइन् । डडेल्धुरा, डोटी, कैलालीलगायत क्षेत्रबाट यहाँ भक्तजन आउने गरेका छन् ।

परापूर्वकालमा देउतालाई दुःख दिने ‘खपरे’ नामको दैत्यलाई बनारसी देउताले बध गरेको किंदन्तीसँग यहाको परम्परा जोडिएको छ । अन्य मन्दिर जातजातिसँग जोडिएको भए पनि यो मन्दिर हरेक जातिका लागि खुला भएको स्थानीय बताउँछन् ।

‘दलितबाट टीका आशीर्वाद लिएका गैरदलित साना भएका छैनौं । भेदभाव हामीले गरेका हौं, देउताले होइन’, पाटन ८ का हरिश बिष्टले भने, ‘मन्दिर जान कसैलाई रोकतोक छैन ।’ बैतडी सदरमुकाम उत्तरपूर्वी पाटन बजारबाट एक घन्टा उत्तर हिंडेपछि बनारसी मन्दिर पुग्न सकिन्छ ।

परम्परागत रूपमा विभाजन भएको सोराड क्षेत्रका सबै दलितले जात्राका दिन अनिवार्य सहभागी हुने चलन छ । पुजारीबाहेकका अन्य मन्दिरका कार्यकर्ता गैरदलित हुने गरेका छन् । विभेदपूर्ण पूजाआजाका कारण पछिल्ला वर्षमा भक्तजन र अन्य दर्शकको संख्या बढ्ने गरेको छ । कान्तिपुर दैनिकबाट