काठमाडौं, ४ असार । विश्वकप फुटबल प्रतियोगिता सुरु भएलगत्तै मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गर्न चेकिङ कडा बनाएको ट्राफिक प्रहरीले तीन दिनमा ५ सय ३५ जनालाई कारबाही गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा फुटबल प्रतियोगिता हुने भएपछि मापसे चेकिङको समय बढाएर रातभर चेकिङ सुरु गरेको छ। यसअघि महाशाखाले रातको ११ बजेसम्म मात्र चेकिङ गर्थ्यो। तर, विश्वकप सुरु भएपछि मध्यरातदेखि बिहानसम्म चेकिङ सुरु गरेको छ।
महाशाखाले विश्वकप फुटबल सुरु भएको दिन शुक्रबार बिहान पौने २ देखि चेकिङलाई मध्यरात र बिहानसम्म बनाएको हो। ट्राफिकले आइतबार बिहानसम्म ५ सय ३५ जनालाई कारबाही गरेको छ भने ३३ जनालाई नियन्त्रणमा लिएको छ।
ट्राफिकले मापसे गरी सवारी चलाएका र कागजात नबोकेकालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका व्यक्तिलाई कागजपत्र ल्याएपछि भोलिपल्ट छाडिएको महाशाखा प्रमुख केशव अधिकारीले बताए।
उनका अनुसार उक्त चेकिङमा मध्यरातको समयमा फुटबल हेरेर मापसे गरी सवारी चलाउने मात्र १ सय ८७ जना कारबाहीमा परेका छन्।
‘मध्यरातको समयमा कारबाही पर्नेजति फुटबल हेरेर मादक पदार्थको नसामा मातिएर सवारी कुदाउने नै हुन्,’ अधिकारीले भने। मापसे चेकिङक्रममा कारबाहीमा पर्नेको संख्या बढे पनि यो बीचमा दुर्घटना भने नभएको महाशाखाले जनाएको छ। नागरिक दैनिकबाट













प्रतिक्रिया