काठमाडौं, ४ जेठ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइराला स्वदेश नफर्केसम्म मन्त्रिपरिषद् बैठक राख्न नपाउने भएका छन्। कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद्को माइन्युटमा हस्ताक्षर गरेर निर्णय गर्न पाउने अधिकार र प्रचलन छैन।
‘अहिलेसम्मको प्रचलनमा प्रधानमन्त्री बाहिर जाँदा कार्यवाहक प्रधानमन्त्री पाएकाले मन्त्रिपरिषद्को बैठक राख्ने गरेका छैनन्’, मुख्यसचिव लीलामणि पौडेलले भने। प्रधानमन्त्री कोइरालाले उपचारका लागि आफू अमेरिका जाँदा वरिष्ठ उपप्रधानमन्त्रीको हैसियतमा गौतमलाई कार्यवाहक प्रधानमन्त्री दिएका छन्।
कोइराला नहुँदा मन्त्रीस्तरीय निर्णय हुने भए पनि मन्त्रिपरिषद्ले गर्नुपर्ने निर्णय भने रोकिनेछन्। कुनै प्राकृतिक प्रकोप वा अन्य राष्ट्रिय विपत्तिको अवस्था आएमा भने पछि मन्त्रिपरिषद्ले निर्णय गर्नेगरी सरकारले उद्धार वा पैसा निकासा गर्न पाउने प्रशासनविद्ले बताए।
‘हाम्रो प्रधानमन्त्रीय प्रणाली भएकाले कार्यवाहकले मन्त्रिपरिषद् बैठक राख्दैनन्’, पूर्वमुख्यसचिव विमल कोइरालाले भने, ‘तत्काल फुकाउनुपर्ने अति आवश्यक परेको खण्डमा बाहेक कार्यवाहकलाई बैठक राख्ने अधिकार हुँदैन र त्यस्तो प्रचलन पनि छैन।’
प्रधानमन्त्री कोइरालाले अमेरिका जानुअघि सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो अनुपस्थितिमा अनावश्यक नयाँ निर्णय नगर्न मन्त्रीहरूलाई निर्देशन दिएको स्रोतले बतायो। प्रधानमन्त्रीले सोमबारै जारी गरेको सन्देशमा पनि कार्यवाहक प्रधानमन्त्रीतर्फ लक्षित गरी साझेदारी संस्कारअनुसार काम गर्न आग्रह गरिएको छ।
‘मेरो स्वास्थ्य उपचारमा हप्ता-दस दिन लागे पनि यसबीचमा राज्य सञ्चालनमा सरकारका साझेदार दलहरूबीचमा रही आएको उच्चस्तरको समन्वय कायम रहनेछ’, सन्देशमा उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकबाट













प्रतिक्रिया