काठमाडौं, ३ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाइएका आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन्।
थापाविरुद्ध आर्थिक अनियमितासहित १८ आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पा र विजयनारायण मानन्धरसहितका पदाधिकारीले उजुरी दर्ता गरेका थिए।
यसैगरी एसियाली फुटबल महासंघका पूर्वअध्यक्ष मोहम्मद बिन हमामको निजी कम्पनी केम्पोको खाताबाट १ लाख २५ हजार अमेरिकी डलर लिएको बारेमा फिफाले अनुसन्धान गरिरहेको छ।
अध्यक्ष थापाले आफूविरुद्ध लगाइएका १८ मध्ये कुनै एक आरोप प्रमाणित भए तत्काल राजीनामा दिने सोमबार पत्रकार सम्मेलनमा चुनौती दिए। उनले भने, ‘अनुसन्धान भइरहेको बेला राजीनामा दिन आवश्यक ठान्दिनँ। मैले नेपाली फुटबलको बदनाम हुने कुनै काम गरेको छैन। मविरुद्ध लगाइएका आरोप प्रमाणित भए म आफै सरकारसँग फाँसीको सजाय माग गर्छु।’
थापाले एन्फा अध्यक्षका रूपमा आफ्नो १९ वर्षे कार्यकालमा कुनै आर्थिक अनियमितता नगरेको दाबी गर्दै सम्बन्धित निकायमा पारदर्शिताको प्रमाण बुझाउन आफू तयार रहेको बताएका छन्।
हमामसँग निजी कारोबार
अध्यक्ष थापाले मोहम्मद बिन हमामसँग लिएको रकम निजी व्यावसायिक विषय भएको बताएका छन्। बेलायतको सन्डे टाइम्समा थापाले हमामसँग आर्थिक रकम लिएकोबारे समाचार छापिएको थियो।
अध्यक्ष थापाले भने, ‘विगत २० वर्षको सम्बन्धका आधारमा मैले हमामको कम्पनीसँग सहकार्य गरेर केही व्यवसाय गरिरहेको छु। हमामसँग लिएको १ लाख २५ हजार अमेरिकी डलर नितान्त व्यक्तिगत कारोबार हो।
मलाई व्यक्तिगत व्यवसाय गर्ने अधिकार छ। फिफाले यसबारेमा अनुसन्धान गरिरहेकाले म धेरै कुरा गर्न चाहन्न।’ नागरिक दैनिकबाट













प्रतिक्रिया