काठमाडौँ, २ असार । प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि सोमबार साँझ ८:४५ बजे संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री कोइराला अमेरिकाको न्यूयोर्कस्थित स्लोन मेमोरियल अस्पतालमा स्वास्थ्य उपचारका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
केही दिनअघि मात्र प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा सानोे दाग देखिएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सक टोलीले सुविधा सम्पन्न अस्पतालमा थप उपचारका लागि सिफारिस गरेको थियो ।
विगतमा जिब्रोको क्यान्सरको अमेरिकामा शल्यक्रिया गराएपछि प्रधानमन्त्री कोइरालाले नियमित अनुगमन परीक्षण गराउँदै आउनुभएको छ ।
प्रधानमन्त्री कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, सरकारी पदाधिकारीहरूले विदाई गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राडा करवीरनाथ योगीलगायत रहनुभएको छ ।
विमानस्थल जानु अघि प्रधानमन्त्री कोइराला राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभई राष्ट्रपति डा रामवरण यादवलाई आफ्नो स्वास्थ्य उपचार बारेमा जानकारी गराउनुभएको थियो ।
यसअघि सोमबारै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको अनुपस्थितिमा सरकारका कामकाजमा अवरोध आउन नदिन उपप्रधानमन्त्री बामदेव गौतमलाई कार्यवाहकको जिम्मेवारी तोकेको थियो ।
साझेदार दलबीचको समन्वय कायमै रहने छ: कोइराला
यसैबीच, प्रधानमन्त्री कोइरालाले आफ्नो स्वास्थ्य उपचारप्रति निश्चिन्त रहन देशवासीसँग आग्रह गर्नुभएको छ ।
स्वास्थ्योपचारका लागि संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुअघि सोमबार देशबासीका लागि एक सन्देश दिँदै उहाँले अत्याधुनिक चिकित्सा पद्धति, प्रविधि र दक्ष चिकित्सकसहितको सुविधासम्पन्न अस्पतालमा परीक्षण हुने भएकाले आफू छिट्टै स्वस्थ भएर स्वदेश फर्कने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उहाँको रोगको निदान र उपचार हुने भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्न संविधानसभाभित्र र बाहिर रहेका सम्पूर्ण राजनीतिक दलले सुझबुझ र धैर्य कायम गरी आपसी सहकार्य, एकता र मेलमिलापको वातावरण बनाएको बताउँदै प्रधानमन्त्री कोइरालाले त्यस खालको व्यवहार आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभएको छ ।
संविधान निर्माणलाई गति दिन र मुलुकमा दिगो शान्ति स्थापना गरी जनताको चाहनाअनुसार विकास निर्माण सम्पन्न गर्न सहमति र समझदारीको उच्च राजनीतिक संस्कारले आउँदा दिनमा पनि निरन्तरता पाउने विश्वास प्रधानमन्त्रीले लिनुभएको छ ।
उहाँले भन्नुभएको छ –“स्वास्थ्योपचारमा हप्ता–दश दिन लागे पनि राज्य सञ्चालनमा सरकारका साझेदार दलबीच रहिआएको उच्चस्तरको समन्वय कायम रहने तथा संविधानसभा र व्यवस्थापिका –संसद्का बैठक राम्ररी सञ्चालन हुने छ र राष्ट्रसेवक कर्मचारीको सेवास्तरमा कुनै कमी आउने छैन ।”
असार ५ गते स्वास्थ्य परीक्षण
यसैबीच प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक करबीरनाथ योगीले यही असार ५ गते केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गर्ने समय निर्धारण गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री कोइरालाले जिब्रोको क्यान्सरको उपचार र नियमित अनुगमन पनि त्यसै अस्पतालमा हँुदै आएको छ ।
चिकित्सक योगीका अनुसार प्रधानमन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य परीक्षणमा एक्सरेमा दाग, हेमोग्लोबिन १३ ग्राम, इएसआर ४१ एमएम र मौन्टु टेस्ट २९ एमएम देखिएको छ ।
प्रा डा योगीले उहाँ छातीको सिटी स्क्यानमा भिन्न प्रकृतिको सेतो दाग देखिएकाले रेडियोलोजिस्टको रायलाई ध्यानमा राखी दागको एफएनएसी, बायोप्सी र पिइटी स्क्यान जस्ता आधुनिक परीक्षण गर्नका लागि अमेरिका जान लाग्नुभएको स्पष्ट गर्नुभएको छ । प्रा डा योगीले प्रमको स्वास्थ्य सम्बन्धमा यथासमयमा आवश्यक जानकारी दिने वचनबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
















प्रतिक्रिया