पोखरा, १ असार । वेदलाई धेरैले धार्मिक ग्रन्थमात्रै मान्छन्। पृथ्वीनारायण क्याम्पस पोखराका अध्यापक शुक्रराज अधिकारीले भने यसलाई आजभन्दा झन्डै ४ हजार वर्ष पहिलेको समाज बुझ्ने माध्यम बनाए।
समाजशास्त्रीय लेन्सबाट हेरेर उनले खासगरी ऊ बेलाको समाजमा पुरुष र नारीको स्थानलाई केलाएका छन्। आफूले अध्ययन अनुसन्धान र विश्लेषण गरी खोजेका तथ्यलाई शनिबार उनले पोखरामा पाठकहरुमाझ पस्किए।
किताब पढ्नेहरुको संस्था र्यान्डम रिडर्स सोसाइटी अफ नेपालले मिलाएको चाँजोको सदुपयोग गर्दै अधिकारीले भने, ‘वेदकालीन समाज पुरुषप्रधान थियो।’ ग्रामीण परिवेशको जनजीवन र पशुपालनमा आश्रित जीविकाको बेला युद्धबाट गुज्रने समाजले पुरुषलाई महत्व दिएको उनले बताए।
‘तर नारीलाई त्यतिबेलाको समाजले घृणा गरेको छैन। बरु सम्मान नै गरेको छ,’ उनले भने, ‘युद्ध भइरहने हुनाले लडाइँमा जाने पुरुषको आवश्यकता समाजले धेरै महसुस गरे पनि त्यतिबेलाको समाजमा समेत महिला पनि युद्धमा गएको देखिन्छ।’
अध्येता अधिकारीले वेद र महाभारत तथा रामायणकालीन समयका बीचमा निकै ठूलो अन्तर रहेको पनि जानकारी दिए। वेदकालीन समय विज्ञानसम्मत भए पनि त्यसपछि धर्म र अध्यात्मको विकासले समाजलाई अन्धविश्वासी बनाउँदै लगेको उनको भनाइ थियो।
महिला पनि मलामी जाने र परिवारको हरेक पर्व, उत्सव र कर्ममा महिलाको सहअस्तित्वलाई वेदकालीन समाजले अनिवार्य ठानेको अधिकारीले बताए। ‘त्यो समाजमा न सतीप्रथा थियो न त सम्बन्धविच्छेद नै ,’ उनले भने, ‘यी कुरा पछिको समयमा आए होलान्। त्यतिबेलाचाहिँ भएको पाइएन।’
थुप्रै ऋषिरऋषिकाले रचेका मन्त्र तथा श्लोकको संकलन नै वेद भएको जानकारी अधिकारीले दिए। वेदमाथि नै विद्यावारिरिध गरेका उनका अनुसार १२र१३ सय वर्षसम्म श्रृतिपरम्परामा रहेका मन्त्रलाई संकलन गरी पछि वेद तयार गरिएको हो। नागरिक दैनिकबाट













प्रतिक्रिया