काठमाडौँ, ३१ जेठ । विभिन्न कारणले महिलालाई रगतको आवश्यकता पुरुषलाई भन्दा बढी हुने भए पनि रक्तदान गर्न आउने महिलाको सङ्ख्या भने कम रहेको छ ।
प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार केन्द्रको तथ्याङ्कअनुसार रक्तदान गर्न आउने महिला १५ प्रतिशतमात्र रहेका छन् । रगतको आवश्यकता पर्नेमा भने महिला ६० प्रतिशत रहेका छन् । विशेषगरी सुत्केरी अवस्थामा महिलालाई रगतको आवश्यकता बढी पर्ने गरेको छ ।
केन्द्रका वरिष्ठ प्रशासक जीवनतारा भट्टका अनुसार नेपालमा महिला स्वास्थ्य सेवामा सहज पहुँच हुन नसकेकाले पनि रक्तदान गर्नेमा महिलाको सङ्ख्या कम भएको हो । महिलालाई रक्तअल्पता हुने, श्रम बढी गर्ने तर पौष्टिक तत्वको कमी हुनेजस्ता कारणले महिला रक्तदाता कम भएको उहाँको भनाइ छ ।
रक्तदान गर्न आउने महिलामध्ये पनि ३० देखि ४० प्रतिशतसम्म मात्र महिलाले रक्तदान गर्न सकेको उहाँले बताउनुभयो । रक्तदानअघि गरिने शारीरिक जाँचमा अधिकांश महिलामा कम रक्तचाप हुने, रगतमा हेमोग्लोबिनको मात्रा कम हुनेजस्ता समस्या देखिने कारण सबै महिलाले रक्तदान गर्न नसकेको बताइएको छ ।
केन्द्रको २०६९÷७० को तथ्याङ्कअनुसार नेपालभर दुई लाख ७४ हजार युनिट रगत आपूर्ति भएको छ । अहिले १७ वर्षदेखि ६० वर्षसम्मका स्वस्थ्य व्यक्तिले रक्तदान गर्न सक्नेछन् । जनचेतनाको कमीले पनि रक्तदान गर्न आउनेको कमी रहेको प्रशासक भट्टको भनाइ छ ।
प्रत्येक वर्ष जुन १४ का दिन विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । यस वर्ष ‘सुरक्षित मातृत्वका लागि स्वस्थ रगत’ भन्ने नाराका साथ नेपालले पनि आज यो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइरहेको छ ।














प्रतिक्रिया