महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेका नेता यतिबेला विभाजित जस्ता देखिन्छन् । कार्यकर्ता नै त्यस्ता शक्ति हुन्, कार्यकर्ताको एकताबद्ध प्रयासले नै पार्टी एक बन्न सक्छ ।
नेतृत्व तहबाट जुन ढंगले विभाजित मनोबिज्ञान अगाडि आइरहेको छ, नेतृत्वले नै प्यानल बनाएर अगाडि बढ्ने प्रवृत्ति देखिएका छन् । त्यो ठीक छैन ।
पार्टीको दस्तावेज एकताबद्ध ढंगले सहमतिका आधारमा पास गरिसकेपछि नेतृत्व पनि सहमतिका आधारले चयन गर्न जरुरी छ । नेतृत्व विभाजित भएर कम्युनिष्ट आन्दोलनलाई विभाजित गरेर जानुहुँदैन भनेर नेतृत्वलाई सावधान बनाउनु, खबरदारी गर्नु नै पार्टीको हितमा हुनेछ । श्रेयकर हुनेछ । तसर्थ, मैले आमकार्यकर्ता साथीहरुलाई भूमिका खेल्न आग्रह गरेको छु ।
मेरो नाम कमरेड माधव नेपालको प्यानलबाट सचिवमा आएकै सन्दर्भमा पनि मैले सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गरौं भनेर पहल गरिरहेको छु । कथम्कदाचित प्रतिस्पर्धामै जानुपर्ने भयो भने पनि हामी एउटै आन्दोलनमा छौं, एउटै पार्टीमा छौं भन्ने कुरालाई हामीले हेक्का राखेर अगाडि बढ्न जरुरी छ । अधिवेशनपछि पनि हामी एउटै आन्दोलनमा बस्छौं भन्ने कुरालाई शिरमा राख्न जरुरी छ । हाम्रा भूमिका र अभिव्यक्तिले हाम्रो आन्दोलनलाई एकताबद्ध हुन सहयोग पुग्ने गरी स्वस्थ प्रतिस्पर्धाभित्र हामी चल्नुपर्छ भन्ने कुरामै मैले जोड दिइरहेको छु । यो नै नेपालको कम्युनिष्ट आन्दोलनको भविष्य हुनेछ, यो नै नेकपा एमालेको भविष्य हुनेछ ।
अहिले नेकपा एमालेप्रति जनताको ठूलो भरोसा छ । एमालेको भूमिका एकातिर नेपाली जनताको आर्थिक, सामाजिक समस्यालाई सम्बोधन गर्न केन्द्रीत गर्नु जरुरी छ भने अर्कोतिर विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर एउटा मुल वाम आन्दोलनको अगुवाई गर्ने भूमिका निर्वाह गर्न जरुरी छ । त्यस्तो अवस्थामा नेकपा एमालेभित्र स्वयम् मनोवैज्ञानिक–सांगाठानिक हिसाबले विभाजन देखापर्यो भने विभाजित मनोविज्ञानले टुक्राटुक्रामा रहेका अरु कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सकिँदैन । यसकारण हामीले त्यही प्रकारको भूमिका निर्वाह गर्नुपर्छ ।
हामीले हाम्रो पार्टीभित्र सांगठानिक हिसाबले एकताबद्ध गर्नुपर्यो । र, साथसाथमा नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर एउटा आन्दोलनको मुल प्रवाह निर्माण गर्ने काममा यो महाधिवेशनले भूमिका निर्वाह गर्नुपर्दछ । त्यो काममा जति कार्यकर्ताले नेताहरुलाई खबरदारी गरे, नेताहरुलाई एकताबद्ध बन्न दबाब दिए त्यति नै हामीलाई सफलता प्राप्त हुनेछ । त्यति नै सार्थकता मिल्नेछ ।
(कुराकानीमा आधारित)











प्रतिक्रिया