२९ आश्विन २०८३, बिहिबार

चर्चमा बन्धक बनाइएका १३ बालकको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charcha ma Rahe ka Balk Ko Uddharविराटनगर, ३१ जेठ । मोरङको सोराभागस्थित एक चर्चमा जोखिमपूर्ण अवस्थामा बन्धक बनाएर राखिएका १३ जना बालकहरूलाई शुक्रबार उद्धार गरिएको छ।

हुम्ला र मोरङकै इन्द्रपुरबाट एक महिना अघि ल्याएर अमानवीय तवरबाट जबरजस्ती राखिएका बालकहरूलाई जिल्ला प्रशासन कार्यालय, बाल कल्याण समिति, प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगकको संयुक्त टोलीले उद्धार गरेको हो। उद्धार गरिएका बालकलाई साँझ विराटनगर ल्याएर आपतकालिन संरक्षणका लागि सिविन नेपालको जिम्मा लगाइएको छ। उद्धार गरिएका मध्ये ११ जना हुम्लाको स्याडा र दुई जना मोरङको इन्द्रपुरका छन्।

सोराभाग गाविस ३ का जोसेफ मरन्डीले अनुमतिबिना संचालनमा रहेको इमान्वीयल चर्चबाट उनीहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए। ‘सरकारबाट पुरा गर्नुपर्ने कुनैपनि कानुनी प्रक्रिया पुरा नगरिकन चर्च संचालन गरिएको रहेछ।

त्यहाँ राखिएका बालकहरूलाई उद्धार गरिएको हो’, प्रजिअ कार्कीले भने, ‘उद्धार गरिएका बालकहरूको अवस्था दयनीय छ।’ कोठामा थुनेर राखेको अवस्थामा उनीहरुलाई उद्धार गरेर विराटनगर ल्याइएको कार्कीले जनाए। उनका अनुसार चर्चमा राखेको भनिए पनि उनीहरूलाई श्रममा समेत लगाउने गरिएको पाइएको छ।

उद्धार गरिएका बालकमा हुम्ला स्याडा ६ का १२ बर्षीय गोर्ख बुढा, १० बर्षीय रामराज बुढा, स्याडा २ का ९ बर्षीय दीपेन्द्र एडी, स्याडा ७ का ८ बर्षीय खगेन्द्र बोहोरा, ८ बर्षीय कैलाश बोहोरा, स्याडा ४ का ७ बर्षीय भुपेन्द्र बुढा, ४ बर्षीय चापा बुढा, ३ बर्षीय मनिष बुढा, ७ बर्षीय सुरज बुढा, ३ बर्षीय महेश बुढा, स्याडा ५ का ५ बर्षीय गणेश बुढा र मोरङ इन्द्रपुर खोर्सानेका १३ बर्षीय सम तामाङ र १३ बर्षीय लक्ष्मण तामाङ रहेका छन्। उद्धार गरिएका मध्ये गोर्खका अनुसार चर्चका संचालक जोसेफ र पत्नी लौलामा मरन्डीले विभिन्न काम लगाउने र काम गर्न नसकेमा रातदिन कुटपिट गर्ने गरेका थिए।

‘अंकल (जोसेफ) ले त मायाँपनि गर्नु हुन्थ्यो’, उनले भने, ‘आन्टीले त कुटेर घाउनै घाउ बनाइदिनु भएको छ ।’ खान समेत नदिइकन सवैलाई चापाकल पेल्ने, कपडा धुने, नाला सफा गर्न लगाउने, धुलो उठाउने लगायतका काममा लगाउने गरेको उनले बताए।

उद्धार गरिएका बालकहरुको स्वास्थ्य अवस्था कमजोर छ। फोहोर मैलोले भरिएका थोत्रा कपडा, शरीर भरी घाउनै घाउ र खान नपाएर भोकै रहेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो। ‘घरको कोठामा थुनेर राखेका रहेछन्, उनीहरुलाई राखिएको ठाउँपनि धुलो र फोहोरले भरिएको थियो’, बालअधिकार अधिकृत सुनिता ताम्रकारले भनिन्, ‘उद्धार गर्न जाँदा शुरुमा बोल्न समेत डराए पछि रुँदै आफ्नो पीडा भने।’ उनका अनुसार बालकहरु सुत्ने भनिएको कोठा र ओछ्यान फोहोर र धुलै धुलो थियो।

बन्धक बनाएर राखिएको घर नजिकै विद्यालय भएपनि उनीहरुले पढ्न समेत नपाएको कार्कीको भनाई छ। स्वास्थ्य अवस्था समेत कमजोर भएका कारण सुरुमा उनीहरूको उपचार गरेर मात्र अन्य कुराको खोजवीन गरिने जानकारी प्रजिअ कार्कीले गराए। अन्नपूर्ण पोष्ट दैनिकबाट