काठमाडौं, ३१ जेठ । अक्षयकुमार खवास दोहाबाट कतार एअरको उडानमा आएर यही जेठ २७ गते बिहान आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए। वैदेशिक रोजगारमा गएका उनी आफ्नो कामको अवधि सकेर फर्किएका थिए। तर उनले त्रिभुवन विमानस्थल छोड्न सकेनन्, न त उनीमाथि कसैले निगरानी नै राख्यो। उनी विमानस्थलको रनवेतिरै फर्किए।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर विभाग, प्रतिआतंकवाद एकाइजस्ता विशेष सुरक्षाका युनिटको २४ घन्टे निगरानीमा रहने विमानस्थलको रनवे हुँदै उनी आयल निगमको डिपो राखिएको स्थानतिर छिरे । त्यतै केही समय अल्मलिएपछि फेरि सोही मार्ग प्रयोग गरी उनी विमानस्थलभित्र छिरे। उनलाई झन्डै १२ घन्टा त्यतै बिताउनु थियो।
जहाजमा यात्रुका सामान ओसारपसार गर्ने विमानस्थलको भित्री भागमा एकछिन अल्मलिएपछि उनी थप केही समय बिताउन रनवेनजिक रहेको एउटा बुटामा चढे। उनले बुटामा चढेर दिनभरजसो विमानस्थलको रमिता हेरिरहे। उनले झन्डै १२ घन्टा विमानस्थलको संवेदनशील क्षेत्रभित्र बिताउँदा पनि कुनै सुरक्षा निकायले वास्ता गरेनन्।
विमानस्थलको बाहिरी घेराको सुरक्षामा सेनाको टोली खटिएको छ भने १४ नम्बर बाहिनी भनिने सेनाको इन्जिनियरिङको झन्डै आठ सय ५० जनाको डफ्फा विमानस्थलमै खटिँदै आएको छ।
भन्सारले सुन बरामद गरे पुरस्कार पाउन त्यहाँ कार्यरत सबै सुरक्षा निकायका ड्युटीमा खटिएका कर्मचारीलाई सुराकी राख्नैपर्ने हुन्छ। तर एउटा युवक बिनाकुनै प्रामाणिक कागत दिनभर विमानस्थलको संवेदनशील क्षेत्रमा घुम्दा पनि कसैको आँखा पुग्न नसक्नु सुरक्षामा खटिएका सबै निकायबाट भएको हेलचेक्र्याइँको नमूना हो।
खवासले सुरक्षा निकायको आँखा छल्न त्यस्तो कुनै खतरनाक विधि पनि प्रयोग गरेका होइनन् तर पनि उनलाई कुनै निकायले विमानस्थलभित्र किन घुमेको, रूखमा किन चढेकोजस्ता प्रश्न सोधेनन्। निस्फिक्री दिन बिताएका उनी राति नौ बजे उड्न ठीक परेको इत्तेहाद एअरलाइन्सको जहाजतर्फ गए। जहाज चढ्ने भर्याङमा पुगिसकेका उनी उक्त विमानका कर्मचारीले प्रहरीलाई खबर गरेपछि बल्ल पक्राउ परेका थिए।
मोरङ बाहुनी २ स्थायी घर भएका २० वर्षीय खवासलाई २७ गते रातभर र २८ गते दिनभर विमानस्थल प्रहरीले नै राखेको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट














प्रतिक्रिया