ब्रासिलिया, ३० जेठ । विश्वकप आयोजक राष्ट्र ब्राजिलको साओ पाओलो स्टेडियममा गएराति भब्य समारोहकाबीच विश्वकप फुटबल खेलको सुरुवात भएपनि त्यहाँ विरोध प्रदर्शन भने जारी रहेको छ । त्यहाँका विपक्षी दलहरुले विरोध प्रदर्शनलाइ निरन्तरता दिएका छन् ।
विपक्षीहरुले सो खेलको आयोजना महँगो भएको र त्यसले देशलाई केही पनि नदिने तर्क अघि सार्दै विरोधलाई जारी राखेको समाचारमा जनाइएको छ । विपक्षीहरुले विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले विमानस्थल र रेल सेवा पनि ठप्प पार्ने धम्की दिएको भए पनि अहिलेसम्म सेवा भने सुचारु नै भएको छ ।
प्रहरीले विमानस्थल बन्द गर्न खोज्ने र विरोध प्रदर्शनलाई थप उत्तेजक बनाउन खोज्ने सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।
करिब १६ अर्ब अमेरिकी डलर खर्च भएको भनिएको विश्वकै लगभग सबैभन्दा महँगो र चर्चित यस फुटबल प्रतिश्पर्धा करिब महिनादिनसम्म सञ्चालन हुँदैछ । सो प्रतिश्पर्धामा विश्वका ३२ देशका खेलाडीले भाग लिएका छन् । रासस÷सिन्ह्वा














प्रतिक्रिया