काठमाडौं, ३० जेठ । महाधिवेशन नजिकिँदै जाँदा एमालेका नेताबीच सामाजिक सञ्जला फेसबुकमा जुहारी सुरु भएको छ।
पोलिटब्युरो सदस्य प्रदीप नेपालले केन्द्रीय सदस्य योगेश भट्टराईको फेसबुक वालमा वरिष्ठ नेता माधवकुमार नेपाललाई आफूले जति अरुले कसैले नभोगेको र नचिनेको भन्दै संसदीय दल नेता केपी शर्मा ओलीलाई सघाउन आग्रह गरेका छन्।
‘माधव कमरेडलाई यो पार्टीमा मैले जति अरु कसले भोगेको होला, चिनेका होला ? महाकाली सन्धियताका मात्र घटना तपाईं स्मरण गर्नु सक्नुहुन्छ,’ नेपालले फेसबुक वालमा लेखेका छन्, ‘म केही भन्दिनँ, तपाईं आफैं चिन्तन गर्नुस् र आफ्नोबारे निर्णय गर्नुस्। आफूभित्रको सद्भावनालाई खेर जान नदिनुस्।’
केही समयपछि भट्टराईले फेसबुकबाटै नेपाललाई जवाफ लेखेका थिए। उनले माधव नेपालसँगको लामो साथ किन छाडेको भन्दै प्रश्न गरेका छन्। ‘जीवनको सबैजसो समय कमरेड प्रदीप नेपालले माधव नेपालसमेतको पावर प्रयोग गरेर अवसर र सुविधा भोग्नुभयो,’ भट्टराईले लेखेका छन्, ‘कहिलेकाहीँ त त्यो पावरबाट हामीजस्ता कतिलाई पेल्नुभयो त्यसको हिसाबै छैन। तर, आज एकाएक किन उहाँले माधव नेपाललाई छाड्नुभयो दुनियाँले बुझ्न सकेको छैन।’
प्रदीप नेपालभन्दा विपरीत जीवनको लामो समय माधव नेपालसँग बेमेलमा बिते पनि आफू अहिले अध्यक्ष बनाउन लागिपरेको जनाएका छन्।
भट्टराईको जवाफपछि नेपालको फेसबुक वालबाट त्यो स्टाटस हटेको छ। त्यसको केही समयपछि उनले फेसबुक वालमा लेखेका छन्, ‘यो फेसबुक पनि नकारात्मक धारणको ढुकुटी रहेछ। म यसबाट बाहिरिने कोसिस गरिरहेछु। कसरी निस्कन सकिन्छरु कसैले सिकाइदिए आभारी हुने थिएँ।’ नागरिक दैनिकबाट













प्रतिक्रिया