काठमाडौं, ३० जेठ । केन्द्रीय संगठन छरितो नहुँदा बैठकमा कोरमै नपुग्नेलगायत झन्झट बेहोर्दै आएका राजनीतिक दल सांगठनिक मोडल चुस्त बनाउन गम्भीर देखिँदैनन्। भागबन्डा मिलाउनैका लागि सयौंको केन्द्रीय समिति बनाएर तल्लो तहमा आलोचित पार्टीहरूले हुँदाहुँदा पदाधिकारी तह नै ‘जम्बो’ आकारको बनाउन थालेका छन्।
नवौं महाधिवेशनबाट पार्टीलाई चिनियाँ मोडलको मिल्दोजुल्दो सांगठनिक संरचनामा ढाल्ने कसरतमा रहेको एमालेले भागबन्डा पुर्यािउनकै लागि पदाधिकारी तह जम्बो आकारको बनाउँदैछ।
आसन्न महाधिवेशनबाट एमालेमा उपाध्यक्ष र सचिव पाँच–पाँच तथा दुई उपमहासचिवसहित १५ सदस्यीय पदाधिकारी रहनेछन्।
अध्यक्ष झलनाथ खनाल नेतृत्वको कार्यदलको बिहीबार बैठकले उपमहासचिवको नयाँ पद सिर्जना गर्दै उपाध्यक्ष र सचिवमा दुई–दुईजना थप्ने सहमति जुटाएको हो।
कार्यदलका अन्य सदस्यको धारणा सुनेपछि अध्यक्ष खनालले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका थिए। सोही प्रस्तावअनुसार अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव दुई र सचिव पाँच गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थामा सहमति भएको हो। वरिष्ठ नेता पद भने निवर्तमान अध्यक्ष नभएको अवस्थामा मात्रै राख्ने व्यवस्था गरिँदैछ।
आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेभित्र उपाध्यक्ष र सचिवको संख्या तीनरतीन थियो। अध्यक्ष खनालले नेतृत्व दाबेदार दुवै पक्ष (माधव नेपाल–केपी ओली) का चाहनाअनुसार संख्या बढाउने प्रस्ताव गरेका हुन्। नागरिक दैनिकबाट













प्रतिक्रिया