काठमाडौं, २९ जेठ । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ। जापानका युइची निसिमुराले आयोजक ब्राजिल र क्रोएसियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २० औं संस्करण साओ पाउलोको एरिना कोरिन्थियन्स रंगशालामा बिहीबार राति औपचारिक उद्घाटनसँगै सुरु हुनेछ।
ब्राजिलमा दोस्रोपटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप आयोजना गरेको थियो।
पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता स्पेन, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र जर्मनीलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि रियो दे जेनेरियोस्थित स्टेडियो डो माराकानाबाट बिदा लिनेछ।
रंगशालालगायतका भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले विश्वव्यापी आलोचना बेहोरेको ब्राजिलका राष्ट्रपति डिल्मा रौसेफले देश विश्वकप आयोजना गर्न पूर्ण तयार भइसकेको घोषणा गरेकी छन्। केही साताअघिसम्म पनि रंगशाला निर्माणधरि नसकिएको भन्दै फिफाले कामको गति बढाउन आयोजकलाई दबाब दिएको थियो।
गत वर्ष अन्तरमहादेशीय कप आयोजनादेखि नै विश्वकपका लागि अर्बौं डलर खर्च गरेर ब्राजिलले शिक्षा, स्वास्थ्य, यातायातलगायत अत्यावश्यक क्षेत्रमा लगानी कटौती गरेको विरोधमा दसौं लाख जनता विश्वकप आयोजनाविरुद्ध् आन्दोलित छन्। ब्राजिलले विश्वकप आयोजनामा ११ अर्ब अमेरिकी डलर खर्च गरेको थियो। नागरिक दैनिकबाट











प्रतिक्रिया