२९ आश्विन २०८३, बिहिबार

वृद्धवृद्धाको माग पूरा गर्ने आश्वासन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birdhaकाठमाडौ, २९ जेठ । सरकारले ज्येष्ठ नागरिकका लागि यातायात भाडा र उपचारमा ५० प्रतिशत छुटको माग लागू गर्ने आश्वासन दिएको छ । १६ महिनादेखि यातायात भाडादर, उपचारमा छुट र वृद्धभत्ता वृद्धि लगायत माग राख्दै आन्दोलनरत ज्येष्ठ नागरिकसँगको वार्तामा यस्तो आश्वासन दिएको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि, आन्दोलनरत पक्ष र संघसंस्थाका प्रतिनिधिबीच बुधबार दुई चरणको वार्तापछि माग सम्बोधन गर्ने सहमति भएको हो । ६० वर्ष उमेर पुगेका सबैलाई वृद्धभत्ता दिनुपर्ने माग भने तत्काल पूरा गर्न नसकिने मन्त्रालयले जनाएको छ । हाल ७० वर्ष पुगेकालाई मासिक ५ सय रुपैयाँ दिइँदै आएको छ ।

महिलामन्त्री नीलम केसीका अनुसार एकैपटक सबैलाई बढाउन नसकिने हुँदा चरणबद्ध हिसाबले वृद्धभत्ता बढाउँदै लानेबारे छलफल भएको छ । ‘६० वर्ष उमेर पुगेकालाई १ हजार, ६५ वर्ष माथिकालाई १ हजार ५ सय र ७० वर्ष उमेर पुगेकालाई २ हजार गर्ने भन्नेबारे छलफल गरेर मात्र निर्णय गरिनेछ,’ उनले भनिन् ।

उनका अनुसार यसबारे वार्ता र सहमति गर्न मन्त्रालयका सह-सचिव शंकर पाठकको संयोजकत्वमा सम्बद्ध मन्त्रालयका प्रतिनिधि र ज्येष्ठ नागरिक संघसंस्थाका प्रतिनिधि सहितको १३ सदस्यीय समिति गठन गरिएको छ । समितिले मागबारे छलफल गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । ‘त्यसपछि उहाँहरूको मागलाई बजेट भाषणमै सम्बोधन गरिनेछ,’ मन्त्री केसीले भनिन् ।

आन्दोलनरत ज्येष्ठ नागरिकले भने सरकारले माग पूरा गराउने प्रतिबद्धता जनाए पनि बजेट भाषणमा सम्बोधन नभएसम्म धर्ना बसिरहने अडान लिएका छन् । ‘यति लामो समय त घाम-पानी नभनी बस्यौं अब बजेट भाषण आउन धेरै समय बाँकी छैन, त्यतिन्जेल जे-जस्तो सहेर भए पनि धर्ना बस्छौं,’ संयुक्त संघर्ष समितिका सह-अध्यक्ष नयेन्द्र खड्काले भने, ‘बजेटमा सम्बोधन भएको भोलिपल्टै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिनेछौं ।’ कान्तिपुर दैनिकबाट