शुक्रबार, ६ भदौ २०७६
DainikNepal.com
शुक्रबार, ६ भदौ २०७६

बायोमेट्रिकविरुद्ध रोजगार व्यवसायीको चेतावनी

दैनिक नेपाल २०७१ जेठ २८ गते ७:३९

Malesiyaकाठमाडौं, २८ जेठ । वैदेशिक रोजगार व्यवसायीले नेपालमा जबर्जस्ती बायोमेट्रिक प्रणाली लागू गरिए मलेसियामा कामदार पठाउन बन्द गर्ने चेतावनी दिएका छन्।

बायोमेट्रिक प्रणालीको नाममा मलेसिया जाने कामदारलाई आर्थिक भार थप्ने काम भएको भन्दै त्यसलाई नेपाल सरकारले स्वीकृति दिए दुई महिना मलेसिया कामदार पठाउन बन्द गर्ने उनीहरुको चेतावनी छ।

म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी अन्य मुलुकमा लागू गराउन नसकेको यो प्रणाली नेपालमा लाद्न खोजिएको जनाएको छ। सीमित व्यक्तिको स्वार्थका लागि यो प्रणाली लाद्न खोजेकोले विरोध गर्नुपरेको संघले जनाएको छ।

संघका कार्यबाहक अध्यक्ष ज्ञानप्रसाद गैरेले बायोमेट्रिक प्रणालीको नाममा एकाधिकार थोपर्ने, कामदारलाई आर्थिक भार बढाउने, स्वास्थ्य व्यवसायीबीच विभेद गरी आर्थिक लाभ लिन खोज्ने काम भएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताए। ‘नेपालमा बायोमेट्रिक लागू हुनु हुँदैन भनेर हामीले सुरुदेखि नै विरोध गरिरहेका छौं। यसले कामदारलाई आर्थिक भार थप्ने भएकाले यो आवश्यक छैन,’ उनले भने।

संघको विरोधका बाबजुद लागू गरिए कामदार मलेसिया पठाउनै रोक्ने निर्णय गर्ने उनले बताए। ‘अहिले प्रोसेसिङमा रहेका कामदार पठाएपछि नयाँ कामदार मलेसिया नपठाउने निर्णय हुन्छ,’ उनले भने।

संघका द्वितीय उपाध्यक्ष कुमुद खनालले यहाँ बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण भए पनि मलेसिया पुगेपछि फेरि फोमिय नामको कम्पनीबाट परीक्षण गराउनै पर्ने भएकाले कामदारलाई दोहोरो मार पर्ने बताए। ‘यता स्वास्थ्य परीक्षणबापत १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। उता गएपछि पनि एक सय ८० रिंगेट पाँच हजार तीन सय रुपैयाँजति तिरेर परीक्षण गराउनुपर्छ। यसले कामदारलाई आर्थिक भार थपिन्छ। त्यसैले लागू हुनुहुँदैन,’ उनले भने। नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित