काठमाडौं, २६ जेठ । आइतबार । दिउँसो ३ बजे। पिंकी बजाज आफ्नो पाँच वर्षीय छोरा स्कुलबाट फर्कने बाटो हेर्दै थिइन्। भाटभटेनीको मिल्सबेरी स्कुलको गाडी धापासी–८ स्थित उनको घर इन्द्रपुरी आवासको गेटैमा रोकियो।
बालक गाडीबाट ओर्लियो। आमा पिंकी छोरालाई बोकेर घरभित्र छिर्न मात्र खोजेकी थिइन्, दुइटा मोटरसाइकल हुइकिँदै आइपुगे। मोटरसाइकलमा दुई–दुईजना सवार थिए। ती चारैजनाले सुइइइ आएर पिंकीको हातैबाट छोरालाई खोसे। पिंकी चिच्याउँदै थिइन्, मोटरसाइकल एकैछिनमा अलप भए। हेर्दाहेर्दै बालक अपहरणमा पर्यो।
उनले आफ्ना श्रीमान दीपकलाई खबर गरिन्। त्यहीबीच स्थानीयले प्रहरीलाई जानकारी गराए। उनीहरूले त्यस्तो अवस्थामा पनि एउटा मोटरसाइकलको नम्बर टिप्न भ्याएका रहेछन्। नम्बर थियो, बा३२प १०९८।
महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले त्यही नम्बरलाई मुख्य आधार बनाएर अनुसन्धान सुरु गरेको काठमाडौं परिसरका एसपी नारायणसिंह खड्काले जानकारी दिए। स्थानीयले दिएको सूचनाका आधारमा चारैतिरका ुचेकप्वाइन्टुलाई सतर्क गराइयो। मोटरसाइकल गएको दिशातिरबाट धुइँपत्ताल खोजी सुरु भयो।
मोटरसाइकलमा बच्चा लिएर भागे पनि अहिलेसम्म मोटरसाइकल कतै लुकाइसकेका होलान् भन्ने अनुमानका आधारमा निजी वा सार्वजनिक सवारीमाथि निगरानी बढाइयो।
करिब आधा घन्टापछि स्वयम्भुको हलचोकनजिकै चेकप्वाइन्ट थापेर बसेका असई ऋषिराम चपाईंले बा१ज ९७७३ नम्बरको माइक्रो तलासी गर्दा एक बालक डराएर बसिरहेको फेला पर्यो।
उसलाई एक युवकले च्यापेको थियो। प्रहरीले त्यो युवकलाई माइक्रोबाट झारेर बच्चाबारे सोधखोज गर्यो। केराकर हुन थालेपछि त्यो युवक बच्चा छाडेर स्वयम्भु पूर्वतिर कुलेलाम ठोक्यो। चपाईंको शंका झन् बलियो भयो। उनले स्वयम्भुतिर दौडिएको युवकलाई पिछा गरेर पक्राउ गरे। नागरिक दैनिकबाट














प्रतिक्रिया