काठमाडौं, २६ जेठ । शान्ति प्रक्रियापछि अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच बिवादको सुरु भएको ललितपुर बालकुमारीको खन्ना गार्मेन्टमा आइतबार दुई नेता आआफ्नो तर्क गरे ।
विराटनगर राष्ट्रिय सम्मेलनपछि चर्किएको बिवादबीच सुरु भएको प्रशिक्षणमा दुई शिर्ष नेताले आआफ्नो तर्क गरेपछि सहभागीलाई चित्त बुझेन । ‘नेताहरुका आआफ्ना तर्क सुन्यौ । आआफ्नो डम्फु बजाउने काम भयो’ एक सहभागीले भने, ‘तर्क, वितर्क गर्नमै समय बित्यो ।’ अन्तरसंघर्षबीच पार्टीको कामकार्वाहीमा एकता गर्ने दाहाल र भट्टराईबीच सहमति भएको छ । दुबै पक्षका नेता तथा कार्यकर्ता आआफ्नो ढंगले चल्न सुरु गरिसकेका छन् । एमाओवादीभित्र संस्थापन र भट्टराई पक्षको स्थायी गुट बन्न पुगेको छ ।
पछिल्लो केन्द्रीय समितिले पार्टीमा नयाू उत्साहको संचार गर्न देशब्यापी प्रशिक्षण राखे पनि सुरुकै प्रशिक्षणले कार्यकर्तालाई उत्साह दिन नसकेको सहभागीको टिप्पणी छ । नेवा राज्यबाट सुरु भएको प्रशिक्षणमा दाहाल र भट्टराईको अभिव्यक्तिमा समानता नदेखिएको एक सहभागीले बताए । दाहालले अन्तरसंघर्षलाई खासै महत्व दिएनन् भने भट्टराईले विचार र राजनीतिको संघर्षबाट पार्टी निर्माण गर्नेमा जोड दिए ।
दाहालको मुख्य जोड भट्टराईसंग राजनीतिक कार्यदिशामा मतभेद नभएको भन्ने थियो । जबकी भट्टराईले राजनीतिक र सांगठनिक समस्याका कारण पार्टी कमजोर भएको बिश्लेषण गरेका थिए ।
‘पार्टी बिग्रेको कुरा सही हो, पार्टी बनाउन हामी निर्मम ढंगले लाग्नुपर्छ । हामी पार्टी रुपान्तरणको प्रक्रिया सुरु गरिसकेका छौ’ दाहालले प्रशिक्षणमा भने, ‘तर मेरो बाबुरामजी भन्दा अलि फरक धारणा छ ।’ उनले हेटौटा महाधिवेशनदेखि विराटनगर राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा राजनीतिक कार्यदिशामा बिवाद नभएको बताए । ‘बाबुरामजीसंग सांगठनिक कुरा नमिलेपछि यो बिवाद आएको हो’ उनको थप भनाइ थियो, ‘यसलाई हामीले ८ बुदे सहमतिबाट हल गर्ने विधि बनाएका छौ ।’
भट्टराईले एमाओवादी मोटाएको नभई सुन्निएकाले समस्या उत्पन्न भएको जनाए । ‘सुन्निएको पार्टीलाई सामान्य झारफुकले निको हुदैन, गंभीर ढंगले उपचार गर्नुपर्छ’ उनले भने, ‘पूर्वाग्रह नराखी अनुसन्धान गर्न आवश्यक छ ।’ प्रशिक्षणमा भट्टराई केही क्षण भावुक भएका थिए । ‘हिंजो हामी लडेर आयौ, अहिले यस्तो किन भयो’ उनले भने, ‘युद्धको बेला हामी पदका लागि कहिलै लडाइ गरेनौ । अहिले पदका लागि किन यस्तो भइरहेको छ ? यसमा पक्कै पनि गडबड छ ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया