काठमाडौं, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय निकायबारे छानबिनका लागि विशेष टोली गठन गरेको छ ।
सबैभन्दा बढी उजुरी परेका जिविस, नगरपालिका र गाविसमा हुने भ्रष्टाचार छानबिनका लागि आयोगले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको हो ।
‘तत्कालका लागि हामीले नमुना जिल्लाहरू छानेर उजुरी संकलन गर्ने र छानबिन थाल्ने निधो गरेका छौं,’ पत्रकार सम्मेलनमा आयोग प्रवक्ता श्रीधर सापकोटाले आइतबार भने, ‘हरेक जिल्लामा आयोगको क्षेत्रीय कार्यालयबाट खटिएको टोली स्थलगत अनुसन्धानमा पुगिसकेको छ ।’ आयोगले पहिलो चरणमा गोरखा, ताप्लेजुङ, रामेछाप, मकवानपुर, मुस्ताङ, जुम्ला र बाजुरालाई छनोट गरेको छ ।
टोलीलाई ५ लाखभन्दा ठूलो आयोजनालाई अनुसन्धानको प्राथमिक विषय बनाउन निर्देशन दिएको सापकोटाले बताए । कृषि सडक, खानेपानी, विकास र अन्य अनुदानलाई छानबिनको प्राथमिकतामा राखिएको छ । कार्यालय सञ्चालन एवं प्रशासनिक र खरिद पनि छानबिनको विषयमा परेको छ । राजस्व व्यवस्थापन र सामाजिक सुरक्षा भत्ताबारे पनि अनुसन्धान हुने आयोगले जनाएको छ ।
छानिएका हरेक जिल्लामा खटिने चारमध्ये एक टोली सदरमुकाममा रही अरू स्थलगत रूपमा जानेछन् । अनुसन्धानका क्रममा जिल्लाभर कम्तीमा २५ प्रतिशत गाविस पुग्नुपर्ने जिम्मेवारी दिइएको छ । जेठ मसान्तसम्मको सूचना संकलनपछि टोली केन्द्रमा र्फकने र विषयवस्तुको गहनताका आधारमा तत्काल छानबिन सुरु गर्ने सापकोटाले बताए । कान्तिपुर दैनिकबाट














प्रतिक्रिया