नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशन नजिकियो । असार १९ गतेदेखि हुने महाधिवेशनका विषयमा अहिले एमालेभित्र बहस सुरु भइसकेको छ । चारैतिर एमालेको महाधिवेशन चर्चा भएपछि अबको नेतृत्वको विषयमा धेरैले विचारहरु सार्वजनिक गर्न थालेका छन् । यसै सन्दर्भमा मलाई पनि एमालेको नेतृत्वका बारेमा विचार उब्जियो । सबैका फरकफरक विचार सुनिरहँदा अबको नेतृत्व कस्तो हुनुपर्छ र एमाले कुन बाटोमा हिँडिरहेको छ भन्ने विषयमा मनमा कौतुहल लागिरहेको छ ।
एमाले पहिलो संविधानसभाको निर्वाचनबाट तेस्रो दल भयो । दोस्रो संविधानसभाको निर्वाचनबाट दोस्रो दल हुन पुग्यो । एमालेभित्र सुधार हुँदै गएको अनुभूति मलाई छ । तेस्रोबाट दोस्रो स्थान हासिल गर्नु उपलब्धि मान्नुपर्छ । नेतृत्व हस्तान्तरण गर्न हुने महाधिवशेन एमाले नेता कार्यकर्ताको महाकुम्भ पनि हो । जुन ऐतिहासिक हुन्छ । महाधिवेशनको गन्धले सबैलाई छोएको छ । चिया पसलदेखि संविधानसभाभित्र एमालेको महाधिवेशनको चर्चा छ । झलनाथ नेतृत्वको एमाले माधवकुमार नेपालको नेतृत्वमा भन्दा सुध्रिएको अवस्था हो । दुई पटक सरकारमा पुगेर एमालेले नेपाली जनताका निम्ति धेरै उपलब्धी हासिल गरेको सबैलाई थाहा छ । अहिलेपनि एमाले सरकारमा छ ।
नवौं महाधिवेशनका विषयमा हुने गरेका विभिन्न बहस मध्ये नेतृत्व महत्वपूर्ण छ । एमालेको महाधिवेशनले पार्टी कसको नेतृत्वमा जाने हो भन्ने चिन्ता दुई लाख ५० हजार पार्टी सदस्य रहेको नेपालकै ठूलो सदस्य संख्या रहेको पार्टी एमालेका कार्यकर्तालाई छ । चर्चा चलिरहेको छ, झापा विद्रोहका कम्यूनिष्ट योद्धा झापाली केपी शर्मा ओली र रौतहटका मधावकुमार नेपालको । केपी शर्मा ओली पद नखोज्ने एमाले नेताहरु मध्येका एक हुन् । यतिका समयसम्म जनता र राष्ट्रका निम्ति लागेका ओलीले अहिलेसम्म राष्ट्रको कुनै महत्वपूर्ण जिम्मेवारी पाएका छैनन् । उनले चाहेका थिए भने माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता नेता भन्दा अगाडि नै राष्ट्रका प्रमुख भइसक्थे । तर, उनी पद लोलुपतामा कहिलै लागेनन् । माधवकुमार नेपालले एमालेलाई दुई पटक नेतृत्व गरे । त्यो बेला उनले पाएको अवसरलाई कति सदुपयोग गरे, त्यो उनैलाई थाहा छ । दुई पटक नेतृत्व गरिसकेको मान्छेले फेरि पनि नेतृत्वको अपेक्षा गर्नुको संकेत प्रष्ट हुन्छ । दुई पटक नेतृत्व उपलब्धीहिन भएकाले अब केही गरौं भन्ने सोच अवश्य होला । तर, मनले जुनबेला नेतृत्व गरौं लाग्छ, त्यही बेला नेतृत्व पाइहाल्ने अवस्था हुँदैन । त्यो सबैले बुझेकै हो । पकाएर राखेको भोजन जस्तो जतिबेला खान मन लाग्छ त्यतिबेला खाइहाल्ने जस्तो पार्टी एमाले होइन भन्ने लाग्छ ।
केपी ओली शारीरिक रुपले अस्वस्थ्य छन् । यसलाई सबैले स्वीकार्नै पर्छ । शारीरिक रुपमा अस्वस्थ्य भएकालाई उपचार सम्भव छ । तर, माधवकुमार नेपाल जस्ता विचारका रोगी नेतालाई उपचार असम्भव छ । त्यसैले अबको नेतृत्व चयनमा बुद्धिजीवि कार्यकर्ताले छुट्याउन सक्नुपर्छ । केपी ओली विरामी भएर उपचारका लागि भारत हुँदै थाइल्याण्ड पुगे । केही नेताले आर्यघाटमा पुगेको मान्छेलाई नेतृत्व दिन सकिँदैन भन्दै टिप्पणी गरे । म त्यो समूहलाई प्रश्न गर्छु । के तिमीहरुसँग कहिल्यै विरामी नहुने, नमर्ने मान्छे छन् । यदि छन् भने देखाउ । त्यस्ता मान्छेलाई नेतृत्व दिन केपी ओली तयार छन् । एमालेभित्र इमान्दार र बुद्धिजीवि कार्यकर्तामात्र छन् भन्ने बुझेको थिए । बुझाई गलत भएछ । केही बर्जुवा मानसिकता बोकेका मान्छेको सहभागिता एमालेभित्र रहेछ । यस्ता मान्छेलाई कम्प्यूटरमा भाइरस पसेपछि एन्टी भाइरसले स्क्यान गरेझैं एमालेभित्रका त्यस्ता मान्छेको स्क्यान गर्न जरुरी छ ।
माओवादी जंगल आन्दोलनबाट सडक आइपुग्दा राजनीतिक चेतना थिएन । कांग्रेस सामन्ती सोच र उग्रवादी विचारबाट ग्रसित थियो । पुँजीपतिहरुको समूह कांग्रेसमा र अराजक प्रवृत्तिका मानिसहरु माओवादीमा पाइन्थे । एमालेभित्र राष्ट्रप्रतिको सद्भावलाई हेर्दा परिभाषित गरिनसक्नु छ । यसमा देन केपी ओली, झलनाथ खनाल, माधव नेपाललाई नै जान्छ । एमाले पार्टी बेठीक होइन । तर वर्तमान अवस्थामा एमालेभित्रको सांगठनिक संस्कार बेठीक हो । चर्को गुटबाट ग्रसित नेकपा एमाले अझै सुध्रिन सकेको छैन । माधव नेपाल सहभागी भएको कार्यक्रममा ओली पक्ष नजाने, ओली सहभागी हुँदा माधव पक्षका कोही नजाने प्रवृत्ति हावी हुँदै गएको छ । एमालेभित्रको प्रमुख समस्या पनि यही हो । यसले पार्टीलाई बलियो होइन कमजोर बनाउँदै लाने कुरामा द्विविधा छैन । मैले नबुझेको गुट एउटा छ । केपी ओली पक्षका भनिने मैले देखेका र चिनेका ओलीलाई छोडेका छैनन् । खासगरी एमालेको गुट दुई पक्षीय ओली र खनालबीचको हो । अहिले ओली पक्षका नेता ओलीसँगै छन् तर खनाल पक्षका नेता माधव नेपालतिर ढल्किए । जता मल्खु उतै ढल्खु भन्ने उदारहण यहाँ साबित भयो । जहाँ शक्ति छ, शक्तिको पछाडि दौडिने कार्यकर्ता दीर्घकालिन हुँदैनन् भन्ने लाग्छ । अहिले त महाधिवेशन भएको छैन । केही कथम् माधव नेपाल पराजित भए भने उनी पक्षका नेता कता ढल्किन्छन् ?
राष्ट्रको निम्ति एमाले सधैं इमान्दार बनिरहेको छ । यो निरन्तर हुनुपर्छ । एमाले मात्र होइन, नेपालमा रहेका सबै राजनीतिक दल राष्ट्रप्रति बफादार हुनुपर्छ । जनता र राष्ट्रको हित विपरीत लाग्ने जनसुकै पार्टी पनि जनप्रिय बन्न सक्दैन । अहिलेको सन्दर्भमा एमाले जति लोकप्रिय छ, केपी ओलीको नेतृत्वमा अझै प्रिय बन्छ भन्ने मेरो बुझाई हो । नेतृत्वको विषय प्रमुख एजेण्डा हो । जसले एमालेलाई राम्रो बनाउन सक्छ उसैको नेतृत्वको खाँचो छ मुलुकमा । विचारका निरोगी ओली नेतृत्व हुनुपर्ने नेपालीको माग हो । नेतृत्व स्थापित गर्न आफ्नो प्रभाव कति छ भन्ने मूल्याङ्कन नेताले गर्नुपर्छ । त्यो चाहे भूगोलसम्म किन नहोस् ।
बुढापाकाले भन्ने गर्छन् अहिलेसम्म मदन भण्डारी बाँचेका थिए भने नेपालमा एमाले बाहेक अरु पार्टी हुने थिएनन् । अथवा, एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने कुनै दल जन्मिने थिएनन् । तर, हिजो अस्ती विद्यार्थी राजनीति गरेर गुट राजनीतिबाट स्थापित भएका घनश्याम भुसाल जस्ता नेताले मदन भण्डारीको अपमान गर्दै हिँडिरहेका छन् । भुसालले दुई पटक नेतृत्व गरेर माधव नेपालका लागि फेरि भोट माग्दै हिँडिरहेका छन् । भोट माग्दै मदन भण्डारीले कहाँ कति योगदान गरे भन्दै खिल्ली उडाउँदै हिँडिरहेका छन् । मेरो बुझाईमा उनी अनुशासनहिन, आदारहिन व्यक्तित्व हुन् । जसको सिद्धान्तबाट मुलुक चलेको छ, उसैको अपमान गर्ने मान्छेलाई कसरी नेता मान्ने ? जनताको बहुदलीय जनवादको सिद्धान्तबाट मुलुक चलिरहेको छ । जब जनताको बहुदलीय जनवादको सिद्धान्तलाई तलमाथि गर्न खोजिन्छ तब मुलुक संक्रमणकालको खाल्डोमा पस्छ ।
मुलुक र एमाले, जनताको बहुदलीय जनवादबाट सिर्जित सिद्धान्तबाट सञ्चालित भइरहेको छ । घनश्याम भुसालले मदन भण्डारीको जनताको बहुदलीय जनवाद नबुझेर होला उनको योगदान खोज्दै हिँडको । भाषण गर्न घनश्याम भुसाललाई भन्दा हिजोअस्ती विद्यार्थी राजनीतिमा लागेका विद्यार्थी नेतालाई राम्रो आउँछ । तर, जबरजस्त अनावश्यक विचार सार्वजनिक गर्ने र त्यही आफ्नै कुरा ठीक भन्ने संस्कारले भुसालको राजनीतिक भविष्य अन्यौल बनाउने निश्चित छ । जब उनले जबज नै बुझेका छैनन् भने एमाले राजनीति कसरी गरिरहेका छन् । एमालेमा मदन भण्डारीको अपमान गर्दै हिँड्नेले कस्तो नेताको विचार प्राप्त गर्दै होलान् । नेता भन्दा पनि अभिनेता बन्ने सम्भावना रहेका भुसालले समाजको चरित्रको बारेमा सार्वजनिक गरेको विचार असान्र्दभिक छ भन्ने पुष्टि भइसक्यो । उनले आफ्नै जीवनलाई हेरेर समाजको चरित्र विश्लेषण गरे । पुँजीवादी क्रान्ति हुनलाई आधारभूत परिवर्तन के के हुनुपर्छ भन्ने कुरा नबुझेका उनले हावाको तालमा पुँजीबादी क्रान्तिको भाषण पिट्दै हिँडे । दैनिक १५ सय नेपाली वैदेशिक रोजगारमा जाने गर्छन् । नेपाल कृषि प्रधान देश भएपनि कृषिमा निर्भर हुने अवस्था छैन । अझै पनि सामन्ती सोच भएको समाज प्रशस्त छ । नोकरशाही शासन समाजमा हटिसकेको छैन ।
डडेलधुराका जनताले हातमुख कसरी जोडिरहेका छन् ? यस्ता सामान्य कुराको अध्ययन नगरी समाजको चरित्र भट्याउनेले नेपालीको भविष्य उज्जवल हुन दिँदैनन् । त्यसैले जनताको बहुदलीय जनवादको सिद्धान्त अपनाई पार्टी गतिविधि गर्ने केपी शर्मा ओलीलाई नेतृत्व गर्ने कि नगर्ने ? छक्क लाग्दो क्षण । झापामा मदन भण्डारी फाउण्डेशनले जनताको बहुदलीय जनवादको २० वर्ष र अबको बाटो विषयक अन्तरक्रिया गरेको केही दिनमा मदन भण्डारीको अपमान गर्नेले मदन भण्डारी अध्ययन केन्द्रमा सहभागी भई भाषण चुट्दै ओलीलाई समर्थन गरेपनि केही नहुने वक्तव्य दिइयो । हामीले बुझ्नै पर्छ टाढाको देवता भन्दा नजिकको भूत काम लाग्छ भनेर । झापालीको लागि केपी ओली भूतै भएपनि राष्ट्रिय गौरवको लागि स्वीकार्नै पर्छ ।
१९ वटा जनवर्गीय संगठन रहेको नेकपा एमालेमा १८ वटा जनवर्गीय संगठनका प्रमुखले ओलीलाई समर्थन गरेको खबर सार्वजनिक भइसकेको छ । अब माधव नेपालले नेतृत्वको लागि के गर्न सक्छन् ? ओली विरामी भएपनि एमालेको नेतृत्व गर्नसक्ने क्षमता छ । मैले नेपालको क्षमता छैन भनेको होइन । क्षमता भएकै कारण त नेपालले दुई पटक नेतृत्व लिइसके । अब एमालेलाई राष्ट्रकै ठूलो पार्टी बनाउने हो भने एमालेका कार्यकर्ताले नेतृत्वको लागि द्विविधा नलिए हुन्छ । माधव नेपालले ३६ सालपछिका युवालाई नेतृत्व दिने कुरा सुनिरहेको छु । दिनेनै हो भने ६५ यताकालाई दिए पनि भइगयो नि !
लेखक झापाका पत्रकार हुन् ।












प्रतिक्रिया