काठमाडौं, २४ जेठ । चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको बताउँदै ठूलो परियोजना निर्माणको ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन्।
चीनको कुनमिङमा शुक्रबार बिहान प्रधानमन्त्री कोइरालासँगको भेटमा वाङले सार्क सम्मेलन आयोजना गर्न चीनले सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।
चीनको आर्थिक तथा वाणिज्य मामिला हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री वाङले उच्च अधिकारी सम्मिलित प्रतिनिधिमण्डलसहित कुनमिङस्थित होटल गार्डेनमा कोइरालासँग करिब एक घन्टा भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री बनेयता कोइरालासँग भेट्ने वाङ उच्च चिनियाँ अधिकारी हुन्। लामो समय ग्वान्डोङ प्रान्तको इन्चार्ज भएर काम गरेका वाङ चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली पोलिटब्युरो सदस्य हुन्।
भेटवार्तामा सहभागी चीनका राजदूत महेश मास्केका अनुसार वाङले सुरुमै नेपालको एक चीन नीतिप्रति धन्यवाद दिएर आर्थिक विकासका योजना ल्याउन आग्रह गरेका थिए। ‘नेपालको आर्थिक विकासमा सहयोग गर्न चीन प्रतिबद्ध छ, ऐतिहासिक हुने खालको एउटा ठूलो परियोजनाको ठोस प्रस्ताव ल्याउनोस्,’ उपप्रधानमन्त्री वाङलाई उद्धृत गर्दै राजदूत मास्केले भने। नागरिक दैनिकबाट













प्रतिक्रिया