हङकङ, २४ जेठ । हालैको भारत भ्रमणमा प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति प्रणव मुखर्जीलगायत उच्च राजनीतिज्ञहरूसँग भेटवार्ता गरेका थिए । तर दुईदिने चीन भ्रमणमा कोइरालालाई यो स्तरको भेटको अवसर जुरेन ।
अन्तिम समयमा भ्रमणको टुंगो लाग्नु र छलफलका एजेन्डाबारे कुनै तयारी नभएकाले सरकारले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटको पहल नै नगरेको हो । मन्त्रिपरिषद्ले चीन भ्रमणको एक दिनअघि मात्र यसबारे औपचारिक निर्णय गरेको थियो ।
तर कारण यतिमात्र भने होइन । चिनियाँ प्रधानमन्त्री ली खछ्याङ एक्स्पोमा सहभागी भए साइडलाइन भेटवार्ताका लागि सहज हुने कोइरालाको सुरुवाती बुझाइ थियो । चीन सरकारका तर्फबाट उपप्रधानमन्त्री वाङ याङ उद्घाटन समारोहमा सहभागी हुने भएपछि कोइराला सद्भावना भ्रमणका लागि मात्र राजधानी बेइजिङ पुग्नु उचित नठानेको स्रोतले बतायो ।
नेपालले प्रस्ताव राखेको भए अन्तिम समयसम्म पनि सद्भावना भेटको सम्भावना भने बलियो थियो । ‘तर यसका लागि प्रधानमन्त्री कोइरालाले तत्परता देखाउनु भएको हाम्रो जानकारीमा छैन,’ परराष्ट्र स्रोतले भन्यो, ‘नेपाल साउथ एसिया एक्स्पोको थिम कन्ट्रीसमेत भएकाले भेटको प्रस्ताव राखिएको भए हुँदैन भन्न सक्ने अवस्थै थिएन ।’ जबकि एक्स्पोमै सहभागी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई भेटै छिन् । बंगलादेश गतवर्ष एक्स्पोको थिम कन्ट्री थियो ।
‘चीनका लागि छिमेकी मुलुक नेपाल बंगलादेशभन्दा कम महत्त्वको हुनै सक्दैन,’ स्रोतले भन्यो, ‘त्यहाँकी प्रधानमन्त्रीले दुवै शीर्ष नेतालाई भेट्न सक्छिन् भने नेपालले औपचारिक प्रस्ताव राखेको भए, हुन नसक्ने कुरै थिएन ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया