काठमाडौं, २३ जेठ । विद्युत प्राधिकरणले जलेका ट्रान्सफर्मर नफेर्दा अधिकांश तराई क्षेत्रमा बिजुली कटौती हुन थालेको छ। दर्जनौं जिल्लाका लागि आवश्यक गुणस्तरीय तार कन्डक्टर र ट्रान्सफर्मर नहुँदा वितरणमा अवरोध आई बिजुली कटौती हुन थालेको हो।
तीन वर्षअघि गुणस्तरहीन ट्रान्सफर्मर खरिदमा दोषी ठहराइ ३५ भन्दा बढी कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका छन्। त्यसयता प्राधिकरणले नयाँ ट्रान्सफर्मर किनेको छैन।
वितरण प्रणाली नै ध्वस्त हुने खतरा बढेपछि सरकारको निर्देशनमा श्रीलंकाबाट १ हजार २ सय ट्रान्सफर्मर किन्न हालै प्राधिकरणले सम्झौता गरेको छ। ती ट्रान्सफर्मर आउन अझै ६ महिना लाग्ने प्राधिकरणले जनाएको छ। प्रसारण प्रणाली समय–समयमा मर्मत गर्ने र ट्रान्सफर्मर छिटो किन्ने वैकल्पिक उपायतर्फ भने सरकार तथा प्राधिकरणले बेवास्ता गर्दै आएका छन्।
पहाडी जिल्लाको तुलनामा बिजुलीको बढी माग हुने तराईमा प्रसारण र वितरणको भरपर्दो माध्यम नहुँदा बिजुली भएर पनि सर्वसाधारण अँध्यारोमा बस्न बाध्य छन्। प्राधिकरणले बुधबारदेखि दैनिक आठ घन्टामात्र बिजुली कटौती हुने तालिका निकालेको छ। विराटनगर, जनकपुर, हेटौंडा, बुटवललगायत क्षेत्रीय कार्यालयअन्तर्गत तराईकेन्द्रित जिल्लामा भने तालिकाभन्दा चार घन्टासम्म थप लोडसेडिङ हुने गरेको स्थानीयको गुनासो छ। नागरिक दैनिकबाट













प्रतिक्रिया