काठमाडौं, २३ । निजामती सेवाभित्रका सबै कर्मचारी संघरसंगठनले बढो महँगीका कारण आफूहरूले पाउँदै आएको मासिक वेतनले गुजारा चलाउनसमेत गाह्रो परेको उल्लेख गर्दै आगामी बजेटमा तलब बढाउन माग गरेका छन् ।
निजामती सेवाका ६ वटा संघरसंगठनले अर्थमन्त्री रामशरण महतलाई बिहीबार १७ सूत्रीय संयुक्त मागपत्र पेस गरी तलबसुविधा बढाउन माग गरेका हुन् । निजामती कर्मचारी संगठन, राष्ट्रिय कर्मचारी संगठन, निजामती कर्मचारी संघ, मधेसी कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी मञ्चले बिहीबार र निजामती कर्मचारी युनियनले बुधबार मागपत्र पेस गर्दै तलबभत्ता वृद्धि नभए आफूहरू आन्दोलनमा उत्रन बाध्य चेतावनीसमेत दिएका छन् ।
ती संगठनले प्रशासन सुधार आयोग, उच्चस्तरीय तलब आयोगको प्रतिवेदन र राष्ट्र बैंकको महँगी प्रक्षेपण दरका आधारमा जीवन निर्वाहमुखी तलब कायम गर्न, पोशाकभत्ता वर्षको ७ हजार ५ सयबाट १५ हजार पुर्याउन, कम्तीमा एक दिनको तलब बराबरको ग्रेड दिन, जीवन बिमा ५ लाख रुपैयाँ पुर्याउन, कर्मचारी र आश्रित परिवारलाई स्वास्थ्य बिमा गर्न, करारमा रहेका कर्मचारीलाई समेत स्थायीसरहको सुविधा दिन माग गरेका छन् ।
प्रत्युत्तरमा अर्थमन्त्री महतले राष्ट्रसेवकहरूलाई सम्मानजनक तलब दिन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यको ढुकुटीले धान्न सक्ने गरी सुविधा बढाउन आफू तयार रहेको आश्वासन दिएको जानकारी निजामती कर्मचारी संघका प्रवक्ता विश्वबन्धु रेग्मीले दिए । रेग्मीले संघसंगठनहरूले राज्यले धान्न नसक्ने गरी तलब बढाउन माग नगरेको उल्लेख गर्दै आफूहरूले कर्मचारीहरूलाई सम्मानजनक ढंगले जीवन चलाउन पुग्ने गरी सुविधा दिनमात्र माग गरेको जानकारी दिए । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया