सिन्धुपाल्चोक, २२ जेठ । चिनियाँ पक्षले कन्टेनर खासा प्रवेश र पार्किङ शुल्क बढाएको विरोधमा नेपाली व्यापारीले बुधबारबाट आयात व्यापार ठप्प पारेका छन्। बिनाआधार जानकारीबेगर एकतर्फी शुल्क वृद्धिको निर्णय गरेको भन्दै उनीहरुले विरोध गरेका हुन्।
व्यापारीले आन्दोलन घोषणा गरेपछि खासाबाट बुधबार एउटै कन्टेनर छुटेनन्। पार्किङमा छिरेका कन्टेनरले सामान लोड गरेका छैनन्। सामान लिन खासा छिरेका कन्टेनर यथास्थानमा रोकेर उनीहरुले विरोध जनाए। चिनियाँ पक्षले आइतबारदेखि लागू हुने गरी कन्टेनर प्रवेश र पार्किङ शुल्क बढाएको थियो।
चिनियाँ पक्षले सामान लोड गर्न खासा पुग्ने कन्टेर पार्किङमा प्रवेश गरेबापत ८० युआन (१३ सय ६० रुपैयाँ) र पार्किङमा बसेको प्रतिदिन २० युआन (३४० रुपैयाँ) लिँदै आएको थियो। नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठका अनुसार प्रवेश शुल्क २० बढाएर सय युआन र पार्किङ शुल्क १० बढाएर ३० युआन पुर्याइएको छ। एकैपटक ३० युआन (५१० रुपैयाँ) बढाइएको छ।
‘बिनाआधार अनावश्यक रुपमा शुल्क बढाइएको छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘सुविधाबेगर मनोमानी बढाइएको भाडा नेपाली व्यापारीलाई मान्य छैन।’ उनले पार्किङ सुविधा भने नाजुक बन्दै गएको बताए।
खासाको पार्किङ त्यहाँको निजी क्षेत्रले हेर्दै आएको छ। बढेको रकम कम देखिए पनि त्यसले दीर्घकालीन असर गर्ने र यही बहानामा अन्य शुल्क पनि बढाउन सक्ने भएकाले विरोध गर्नु परेको व्यापारीले जनाएका छन्। नागरिक दैनिकबाट













प्रतिक्रिया