रसुवा, २१ जेठ । सावधान, त्यता नजानुस्
जंगलमा तपाईंलाई प्रवेश निषेध छ।
किनकि, रेडपान्डा जोडीलाई ‘डिस्टर्बु हुनसक्छ जो प्रेममा मग्न हुँदै समागममा लीन छ
यो रेडपान्डाकै समय हो, हनिमुन समय।
लाङटाङ निकुञ्ज क्षेत्रमा यस्तो कुनै बोर्ड टाँसिएको त छैन, तर स्थानीय सबैलाई यही आसयको अनौपचारिक सूचना थाहा छ।
लोपोन्मुख रेडपान्डाको रेखदेख र संरक्षणमा सक्रिय स्थानीयकै पहलमा जंगलमा समागमका लागि सहज र शान्त वातावरण बनाइएको हो।
दुर्लभ वन्यजन्तु रेडपान्डाको प्रजनन यामभर उनीहरूको प्रेमालापमा बिघ्न नहोस् भनेर स्थानीयले दुई महिना जंगल प्रवेशमा रोक लगाएका हुन्। बासस्थानलाई चार किल्ला तोकेर निषेधित क्षेत्र घोषणा गरिएको छ। दाउरा, घाँस काट्न रोक लगाइएको छ। बासस्थाननजिक गएर होहल्ला गर्न पाइनेछैन। घरपालुवा जनावर चराउन पनि बन्देज छ।
हनिमुनका निम्ति शान्त र एकान्त वातावरण बनाइदिने यो पहललाई ‘स्थानीयको कर्फ्युु भनिएको छ। यो कर्फ्यु रेडपान्डाको प्रजनन अवधिभर लागू हुनेछ।
यतिसाह्रो शान्त वातावरण किन चाहियो रेडपान्डालाई ?
किनकि, यो लजालु स्वभावको जनावर हो, अन्य वन्यजन्तुभन्दा ज्यादै नै। वरपर छिसिक्क केही भयो कि समागम रोकिन्छ, भाले–पोथी अलग्गिएर भाग्छन्, सबै काम चौपट हुन्छ।
त्यति मात्र कहाँ१ प्रजनन क्रममा अवरोध आए जन्माएको बच्चासमेत छाडेर भाग्ने स्वभाव हुन्छ यो जन्तुको। मानवीय चहलपहलले यसको प्रजनन प्रक्रियामा खलल ल्याउन सक्ने हुनाले नै यो दुई महिना अवधिलाई निकै ‘संवेदनशीलु मानिन्छ।
रेडपान्डा जब तीन वर्ष पुग्छ, भाले र पोथी समागमका लागि तयार हुन्छन्। भाले लागेको १ सय १२ देखि १ सय ५८ दिनभित्र बच्चा जन्मन्छ। नागरिक दैनिकबाट













प्रतिक्रिया