काठमाडौं, २१ जेठ । कार्यविधि र नेतृत्वमा सहमति गरेर मात्र उच्चस्तरीय राजनीतिक समिति गठन गर्न नेकपा (एमाले) ले प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालासमक्ष आग्रह गरेको छ।
प्रमुख दलका प्रमुख नेता सहभागी समिति गठनमा लचिलो देखिए पनि एमाले नेताले त्यसको नेतृत्व र कार्यविधि पहिले टुंगो लगाउन प्रधानमन्त्री कोइरालासँग मंगलबार साँझ भेटेरै माग गरेका हुन्।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान समिति गठनलगायत विषयमा कोइरालासँग सहमति जनाएका थिए। पहिले नै सहमत भइसकेको एमाले नेताले त्यसपछि कोइरालासँग भेटेर नेतृत्व र कार्यविधिको अत्तो थापेका हुन्।
अध्यक्ष झलनाथ खनाल र सचिव विष्णु पौडेलले कोइरालासँग भेटमा प्याकेजमै सबै विषय टुंगो लगाउनुपर्ने धारणा राखे। कांग्रेसले सत्ता साझेदार दलसँग छलफल नै नगरी प्रमुख प्रतिपक्षीसँग उच्चस्तरीय राजनीतिक समिति गठनसहितका विषयमा सहमति गरेको भन्दै प्रधानमन्त्रीसँग तीव्र असन्तुष्टि जनाएको स्रोतको दाबी छ।
एमाले सचिव पौडेलले प्रमुख राजनीतिक दलका शीर्ष नेता रहेको समितिको नेतृत्व, बैठक सञ्चालनको कार्यविधिसहित सबै विषयमा प्याकेजमै सहमतिका लागि प्रयास जारी रहेको बताए। नेताहरुबीच निरन्तर छलफल गरी सबै विषयलाई छिट्टै टुंगोमा पुर्याउने पौडेलले जनाए।
मंगलबार बिहान प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गत पुस ९ गते भएको चारबुँदे सहमति कार्यान्वयन गर्दै व्यवस्थापिका संसद अवरोध हटाउने सहमति भएको थियो।
सत्ता साझेदार दलसँगको सहमतिबिनै प्रमुख प्रतिपक्षीसँग प्रधानमन्त्रीले सहमति गरेपछि एमाले नेतृत्व कोइरालासँग असन्तुष्ट बनेको हो। नागरिक दैनिकबाट













प्रतिक्रिया