३० आश्विन २०८३, शुक्रबार

नेपालीलाई अन्तर्राष्ट्रिय सम्बन्ध पढाउँदै राजदूत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-Offic-600x240

काठमाडौँ, २० जेठ । त्रिभुवन विश्वविद्यालयले गत वर्षबाट सञ्चालन गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयको स्नातकोत्तर कक्षामा विभिन्न राजदूतदेखि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारसम्मले अध्यापन गर्ने गरेका छन् ।

नेपालको भूराजनीतिक अवस्था, छिमेकी मुलुकसँगको सम्बन्ध, सार्वभौमसत्ता, विदेश नीतिजस्ता विषयमा पढाइ हुने यो विभागमा स्वदेशी राजदूतमात्र होइन बेलाबेलामा विदेशी राजदूत तथा भ्रमणमा आउने विदेशमन्त्रीहरुले पनि प्रवचन दिन्छन् ।

प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालका सल्लाहकार राजन भट्टराईलगायतले सो विषयमा अध्यापन गर्नुहुन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागका प्रमुख डा खड्ग केसीका अनुसार कुल ५० जनाको क्षमता रहेको विभागमा भर्नाका लागि गत वर्ष १५१ जनाले आवेदन दिएका थिए । नयाँ शैक्षिकसत्रका लागि आगामी सेप्टेम्बरमा पुनः भर्ना आह्वान हुँदैछ ।

डा केसीले यस विषयमा नयाँ जनशक्ति उत्पादन गरी राज्यलाई सहयोग गर्ने ध्येयले कक्षा सञ्चालन गरिएको बताउनुभयो । यो विषयमा भर्ना हुन कुनै पनि विषयमा कम्तीमा दोस्रो श्रेणीमा स्नातक उत्तीर्ण हुनुपर्छ ।

एमाले विदेश विभागमा सदस्यसमेत रहनुभएका भट्टराईले बेलायतमा सन् १९१९ मै अक्स्फोर्ड विश्वविद्यालयले यो विषयमा स्नातकोत्तर अध्यापन गराएको र भारतको जवाहारलाल नेहरु विश्वविद्यालयले सन् १९६९ मा अध्यापन सुरु गरेको सन्दर्भमा नेपालमा ढिलै भए पनि यो कक्षा सञ्चालन हुनु सकारात्मक कदम भएको बताउनुभयो ।