दीपक गौतम
टोक्यो । पश्चिम बागलुङमा धौलागिरी अञ्चल स्तरीय कवर्डहल निर्माणका लागि नेपलिज तेक्वान्दो संघ जापानको सक्रियतामा जापानबाट थालिएको आर्थिक संकलन अभियान अहिले हङकङ, अमेरिका, पोर्चुगल, दुवई लगायतका देशहरुमा फैलिएको छ ।
तेक्वान्दो खेलको विकासका लागि प्रतिभाशाली खेलाडीहरुको उत्पादन गर्ने उद्देश्य सहित बागलुङमा सुविधा सम्पन्न अञ्चलस्तरीय कवर्ड हल निर्माणका लागि झण्डै ८ लाख रुपैयाँ संकलन भईसकेको छ । ‘हामीले रकम संकलन अभियान थालेको २ महिनामै ८ लाख रुपैयाँ संकलन गर्न सफल भएका छौँ’ नेपलिज तेक्वान्दो संघ जापनका अध्यक्ष शिद्धार्थ श्रेष्ठले भने ‘राज्यले पनि सहयोग गरेको खण्डमा हामीले अञ्चलकै नमुना कवर्ड हल निर्माण गर्नेछौँ ।’ समाजलाई अनुशासित र मर्यादित बनाउन खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकाले खेल मार्फत अनुशासित समाज निर्माण गर्ने आफुहरुको लक्ष्य रहेको श्रेष्ठको भनाइ छ ।
बागलुङमा निर्माण गर्न लागिएको अञ्चलस्तरीय कवर्ड हलका लागि गोरखा स्थायी ठेगान भई हाल जापान बस्दै आएका भवन भट्टले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको संघले जनाएको छ । कवर्ड हल निर्माणका लागि हाल सम्म सबै भन्दा बढी आर्थिक सहयोग गर्ने भट्टनै हुन । त्यस्तैगरी बागलुङ भीमापोखरा स्थायी ठेगाना भई हाल पोर्चुगल बस्दै आएका सूर्य हमालले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी बागलुङ विहु कर्लिमका (हाल जापान) दीपक सुवेदीले ५१ हजार, बानपा ११ निवासी (हाल जापान) दुर्गा आचार्यले ५१ हजार, बानपा ३ निवासी (हाल जापान) विना खड्काले ५१ हजार, त्यसैगरी पर्वत पाङ स्थायी ठेगाना भई हाल जापान बस्दै आएका राम बास्तोलाले ३१ हजार, चितवनका (हाल जापान) डा. दिलिप घिमिरेले ३० हजार, बागलु हुग्दीशिरका (हाल जापान) केशर गिरीले ३० हजार, बागलुङ विहुँका (हाल जापान) डण्डपानी कँडेलले २२ हजार, बागलुङ विहुँ घर भई हाल जापान निवासी दीपक कंडेलले २१ हजार, जापान स्थित सिटि एक्सप्रेस मनि ट्रान्सफरले २० हजार, बागलुङ अमलाचौर स्थित डा. सूर्य पाठकले २० हजार आर्थिक सहयोग गरेको संघका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो अभियान अरु मुलुकहरुको तुलनामा जापानमा धेरै सफल भएकोछ’ संघका अध्यक्ष श्रेष्ठले भने ‘हाम्रो अभियान विस्तारै सफलतातर्फ उन्मुख भईरहेकाले हामी निकै उत्साहीत भएका छौँ ।’ कवर्ड हल निर्माणका लागि अन्तराष्ट्रिय तेक्वान्दो एसोशिएसन जापानले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको संघले जानकारी दियो । कवर्ड हल निर्माण सम्पन्न गर्नका लागि करिव ८० लाख रुपैयाँ लाग्ने भएकाले राज्यले पनि आफुहरुसंग सहकार्य गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।
‘हामीले एकताबद्ध भएर कवर्ड हल निर्माणका लागि आर्थिक संकलन अभियान चलाईरहेका छौँ’ श्रेष्ठले भने ‘यसमा राज्यले पनि आफ्नो उपस्थीति देखाउनुपर्छ ।’ बागलुङमा कवर्ड हल निर्माण भएपति अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सहज हुने श्रेष्ठको भनाई छ । जिल्ला तेक्वान्दो संघ बागलुङको मातहतमा रहने सो कवर्ड हललाई निर्माण सम्पन्न भएपश्चात स्वास्थ्य शिविरहरु, खेलकुद प्रतियोगिताहरु आयोजना हुँदा र प्राकृतिक विपत्तिका बेलामा समेत प्रयोग गर्न सकिने संघले जनाएको छ । साथै कुनैपनि खेलमा अञ्चलबाट छानिएका खेलाडीहरुलाई ट्रेनिङका लागि समेत हल उपलब्ध गराइने संघले जानकारी दिएको छ ।














प्रतिक्रिया