काठमाडौं, २० जेठ । प्रधानमन्त्री सुशील कोइरालाको चीनको कुन्मिनमा आयोजना हुने दोस्रो चीन-दक्षिण एसिया एक्स्पोमा चिनियाँ समकक्षी ली खछ्याङसँग भेटघाट नहुने भएको छ । उनी दुईदिने भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।
‘प्रधानमन्त्री त्यहाँबाट बेइजिङ जाने र बेइजिङबाट पनि राष्ट्रपति वा प्रधानमन्त्री एक्स्पो उद्घाटनमा आउने कार्यक्रम नरहेकाले भेटको सम्भावना छैन,’ परराष्ट्रका एक अधिकारीले भने ।
परराष्ट्र अधिकारीहरूका अनुसार कोइरालाले त्यहाँका एक उपप्रधानमन्त्री (भाइस प्रिमियर) सँग भेट्ने कार्यक्रम छ । कुन्मिनका गभर्नरसँग पनि भेटवार्ता हुनेछ ।
भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएका कारण प्रधानमन्त्री कोइरालालाई अब एक्स्पोमा जान सजिलो भएका हो । प्रधानमन्त्रीका रूपमा भारतभन्दा पहिले चीन जान उनी अन्कनाइरहेका थिए । नेपाल अन्तर्वस्तु (थिम) रहेको एक्स्पो उद्घाटनमा सहभागी हुन उनले तीन महिनाअघि नै निम्तो पाएका थिए ।
सरकारी प्रतिनिधि, कलाकार, कालिगढ र निजी क्षेत्रका गरी करिब सय जनाले एक्स्पोमा भाग लिने अनुमान छ । व्यापार-व्यवसाय प्रवर्द्धनको उद्देश्य रहेकाले वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलकुमार थापा पनि जानेछन् । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे प्रमण्डलमा छैनन् ।
प्रधानमन्त्रीसँग परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागी, शिष्टाचार महापाल, सहसचिव अम्बिका लुइँटेललगायत अधिकारीहरू जानेछन् । टोलीमा कति जना सहभागी हुने भन्ने तय भइसकेको छैन । नेपाली प्रमण्डल चीन सरकारले पठाइदिने चार्टर प्लेनबाट त्यसतर्फ लाग्ने सम्बद्ध अधिकारीले जानकारी दिए । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया