२८ आश्विन २०८३, बुधबार

राज्यकोषको दुरुपयोग भयो भन्दै आफै रकम माग्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Budjetकाठमाडौं, २० जेठ । आर्थिक वर्षको अन्तमा रकमान्तर गरी राज्यकोषको दुरुपयोग गरेको भनेर संसद अवरुद्ध गरिरहेका एमाओवादीका सभासद तथा कांग्रेससँग असन्तुष्ट सत्ता साझेदार एमाले आफ्नालाई यसरी नै बजेट दिलाएर सन्तुष्ट हुने तयारीमा छन् । थप रकम दिएर सबैको चित्त बुझाउने प्रयासमा स्थानीय विकास मन्त्रालय लागेको छ ।

‘एमाले त संस्थागत रुपमै योजना माग गर्न आइसक्यो,’ स्थानीय विकासका एक अधिकारीले भने, ‘एमाओवादीका सभासदहरु व्यक्तिगत रुपमा हामीलाई पनि चाहियो भनेर आइरहनुभएको छ ।’

एमालेले नेता राजेन्द्र पाण्डेलाई पार्टीका सभासदहरूले चाहेका योजनामा बजेट दिलाउने जिम्मेवारी दिएको छ ।

उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आफ्नै मन्त्रालयबाट रकमान्तर गरेको १४ करोड ५० लाख रुपैयाँमा अर्थबाट थप निकासा लिएको ३७ करोड रुपैयाँ थपेर १ हजार ५ सय योजनामा जेठ दोश्रो साता वितरण गरेका थिए ।

एमाले सभासद पाण्डेले आफ्नो पार्टीका सभासदका लागि पनि ३७ करोड रुपैयाँ नै दिनुपर्ने भन्दै स्थानीय विकाससँग बार्गेन गरिरहेका छन । आफूनिकट सभासदका योजनामा मात्र रकम दिएको भन्दै पार्टीभित्रै मन्त्री सिंहको विरोध भएपछि कांग्रेसका पनि थप सभासदलाई यस्ता योजनामा रकम वितरण गर्ने तयारी भइरहेको छ । कांग्रेसबाट चिनकाजी श्रेष्ठले असन्तुष्ट सभासदको निवेदन संकलन गरिरहेका छन ।

यस्तै मधेशी दलका सभासदले पनि यस्ता योजनाका लागि रकम दिन दबाव दिइरहेका छन । ‘माग त धेरै ठूलो छ’, स्थानीय विकासका एक अधिकारीले भने, ‘हामी २०-२५ कारोड रुपैयाँमा कुरा मिलाउने प्रयासमा छौं ।’ आर्थिक वर्ष सकिन १ महिनाजति बाँकी हुँदा जाने यो रकमले विकास निर्माणचाहिँ केही नहुने ति अधिकारीले बताए । ‘उपभोक्ता समिति बनाएर भाग शान्ति जयनेपाल गर्ने हो,’ तिनले भने ।

स्थानीय विकास मन्त्रीले उक्त रकम वितरण गर्दा कानून मिचिएको मन्त्रालयका अधिकारीले बताए । अर्थले थप निकासा गर्दा बजेटमा परेका कार्यक्रमका लागि वितरण गर्न भनिए पनि स्थानीय विकासले थुप्रै नयाँ योजनामा पनि वितरण गरेको छ । कान्तिपुर दैनिकबाट