२८ आश्विन २०८३, बुधबार

छोरा जस्तो भएपनि छोरी राम्री हुनु पर्छ !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amrit-baskune

जतिसुकै सभ्य भनौँ या जतिसुकै स्तरीय भनेर समाजले भन्ने गरेको होस् सबैको घरमा आउने र सबैले चाहना राख्ने कुरा हो यो समाजमा छोरा । जब कसैको घरमा नयाँ सन्तानको आगमन हुन्छ त्यसबखत सोधिने प्रत्येकको प्रश्न हुन्छ ‘छोरा जन्मिएको हो ?’ यदि छोरा जन्मिएको भए ठिकै छ नत्र छोरी जन्मिएको भए राम्री हुनुपर्छ है । छोरीको जन्म भएपछि सबैले चाहेका हुन्छन् छोरी राम्री हुनपर्छ ।

‘छोरा त जस्तो भएपनि हुन्छ । तर, छोरी चाहिँ राम्री हुनुपर्दछ नत्र भोली बिगाउन धौ हुन्छ ।’ जुन समय प्रसब पिडाबाट छट्पटी रहेकी आमाको पीडा अन्त्य भै सकेको हुँदैन छोरीको जन्म भयो भने जन्मदिने आमालाई पुनः प्रसव पीडा भन्दा झन दर्दनाक पीडाले सताउन थाल्छ । छोरी जन्मनु भनेकै अभिषाप हो कि जस्तो तबरले ब्याख्या गर्न थालिन्छ समाजमा अनि पिडा नहोस पनि कसरी बिचरा ति आमालाई ।

जब छोरीको जन्म हुन्छ अनि जन्मनासाथ जतिसुकै आदर्श छाँटे पनि छोरीलाई नङ्ग्याउन थाल्छन् परिवार । ‘सानी नानी आँखामा गाजल, निधारमा टीका, हातमा चुरा र छोटोछोटो फ्रक लगाएकी, आहा ! छोरी तिमी त कति राम्री ।’ यही शब्दको बाँणले हान्ने गरिन्छ छोरीलाई । छोरा जन्मिएको खण्डमा शरीर ढाकिने कपडा लगाउने तर छोरीले लगाएको कपडाबाट आधा भन्दा बढी शरिरका भागलाई बाहिरै छोडिन्छ र थोरै मात्र शरिरका अङ्गहरु ढाकिन्छ । छोरीलाई राम्री बनाउनका लागि कपडा र मेकअपका सामग्रीहरु दलेर उनलाई जतिसक्यो धेरै नङ्ग्याउने काम हुन्छ । पसलको सोकेसमा सजाएर राखिएका सामान सुन्दर भयो भने बेच्नको लागि सजिलो हुन्छ त्यसरी नै छोरी सुन्दर भई भने विबाह गर्न सजिलो हुन्छ भन्दै छोरीलाई सानैदेखि आन्तरिक योग्यता, क्षमता, विकास गर्नतिर नभई सिंगारपटार गर्नपट्टि परिवारका सदस्यहरुले नै आकर्षित गरिरहेका हुन्छन् । छोरीहरुको कमजोर मानसिकता र सिंगारपटार तिर ध्यान दिने स्वभाव निर्माण प्राकृतिक नभई बाल्यकालमा परिवार तथा समाजले सिकाएका कुराहरुको परिणाम हो ।

समाजमा चलेका उखानहरुले पनि छोरीलाई हेपेको हो कि जस्तो भान हुने गर्दछ । ‘बरु ढिलै होस् तर छोरा हुनुपर्दछ’ भन्ने धारणा बोकेको हाम्रो समाजमा छोरी जन्मेदेखि नै सुन्दर हुनुपर्दछ भन्ने सबैको मानसिकतालाई फेर्न साहेदै सकिएला । समाजमा धेरै देखिएको कुरा हो छोरीको जन्मभएपछि छोराको आशमा पाँच सात जना छोरी जन्माएका हुन्छन् । दुई छोरी जन्माएर बन्ध्याकरण गरेको परिवार भेट्न गाह्रो हुन्छ भने दुई छोरा होस् या एउटै छोरापछि पनि बन्ध्याकरण गरेको परिवार भने धेरै भेटिन्छ । किन सँधै हुन्छ छोरा र छोरीमा विभेद अनि छोरा र छोरीमा राम्रो को हुन पर्ने भन्ने बहस ।

जब बच्चाको जन्म हुन्छ तव छोरा र छोरीको महत्वको निर्धारण गरिन्छ र जन्मैदेखि छोराछोरीलाई फरक फरक रुपमा विकसित गर्दै लगिन्छ । छोरालाई सुरु देखिनै पालन पोषणमा बढी महत्व दिई शारीरिक तथा मानसिक रुपमा बलियो बनाउँदै लगिन्छ स्वयं बाबु आमालाई समेत थाहा हुँदैन कि आफूहरुले बोलेका शब्दहरु र सिकाइएका व्यवहारहरुले लैङ्गिक असमानता ल्याउन बढावा दिईरहेका छन् । छोरालाई सानैदेखि मेरो छोरा मेहनती छ, बलियो छ भन्ने गरिन्छ र सिंगारपटारमा ध्यान दिइँदैन तर छोरीलाई सानैदेखि आँखामा गाजल निधारमा टिका, हातमा चुरा र छोटोछोटो फ्रक लगाइदिएर मेरी छोरी कति राम्री भन्ने गरिन्छ । छोरी सानी हुँदा आमाहरुले नै बढी सिंगारपटार गरिदिन्छन् । बाबुआमाले पनि आफ्ना छोरीहरु कोमल स्वभाव, सुन्दर र आज्ञाकारी होऊन् भन्ने अपेक्षा गर्दछन् भने छोराहरु सानैबाट शाक्तिशाली, आत्मविश्वासी र प्रतिस्पर्धी खालका बनून् भन्ने आशा गर्दछन् । त्यस्तै छोरीहरुलाई बाल्यकालमा खेल्नका लागि पुतली, बाँडाकुटी जस्ता सामान दिने तथा घरको काम धन्दामा आमालाई सहयोग गर्न लगाउने गरिन्छ भने छोरालाई मोटर साइकल, कार, बन्दुक जस्ता खेलौना दिने तथा बाबु सँगै घरबाहिरको काम गर्न सिकाइन्छ । पछि गएर आमाको अवस्थामा छोरी र बाबुको अवस्थामा छोरा रहन्छ । ग्रामीण भेकमा अझै पनि छोरालाई काठको हलो बनाउने र गोरु नारेर जोत्ने जस्ता खेलौनाका सामग्रीहरु दिने गरिन्छ । पछिल्ला समय शहरी क्षेत्रमा गाडी, प्लेन, रकेट जस्ता खेलौना छोराको लागि रोजाइमा पर्ने गर्दछन् । तर छोरीका लागि हुने खेलौना किचन सामग्रीहरुनै प्राथमिकताका साथ पर्दछन् ।

हाम्रो समाजमा बारम्बार हामीले व्यक्त गरेका सन्देशहरुले र हामीले सिकाएका व्यवहारहरुले भविष्यमा छोरा र छोरीको योग्यता, चालचलन र आकाङ्क्षा निर्माणमा ठूलो भूमिका खेल्दछन् । त्यसलाई हामीले सम्झन सकेका छौं कि छैनौं त हामीले मनन गर्न सकेका हुँदैनौ जानेर वा नजानेर पनि यसलाई वास्ता गरिदैन । आखिर किन हो त घरमा आमालाई सघाउनु, घरधन्दापट्टि रुचि राख्नु, सिंगार पटार पट्टि ध्यान दिनु छोरीको स्वभावै वन्न जान्छ भने बाहिरको काम धन्दामा रुचि दिनु छोराको स्वभाव बन्न जान्छ । छोराछोरीको यस्तो प्रकारको स्वभाव विकास गर्नमा जानेर वा नजानेरै भएपनि परिवारको हात रहेको हुन्छ । हामी अभिभावकहरुले बालबालिकालाई आफसेआफ अनजानमै यो ब्यबहार गरिरहेका हुन्छौं ।

घर परिवार समाज र विद्यालयहरुमा बाल्यकालदेखि सिक्दै आएका कुराहरुले नै छोरा र छोरीमा फरक फरक विशेषता निर्माण हुनमा भूमिका खेलिरहेको हुन्छ र उनीहरुको स्वतन्त्रता, भावना र सम्मानमा असर पर्दै जान्छ । बालबालिकाको बाल मस्तिष्कमा कसरी लैङ्गीक असमानताका बिउहरुले जरा गाडेको हुन्छ त्यो हामीले भने थाहा पाइरहेका हुदैनौं । बालबालिकाहरुले पढ्ने किताबमा समेत ब्यापक रुपमा लैङ्गिक असमानताको छाप परेको हुन्छ । बालबालिकाले पढ्ने किताबका पाठहरुमा मेरी आमा भात पकाउनुहुन्छ, बाबाले स्कूलमा पढाउनुहुन्छ भन्ने जस्ता शब्दहरु पढ्न थाल्दछन् बालबालिकाहरु । प्रायजसो किताबमा राखिएका जीवनी अधिकांश पुरुषकै हुन्छन् कथाका आदर्श पात्रहरु पुरुषहरुलाईनै बनाइएका हुन्छन्, तर तिनै कथाहरुमा महिलाहरु सामान्य भूमिका मात्र निर्वाह गरिरहेका हुन्छन् । यस्ता पाठहरु पढाउँदा कहिले परिवर्तन हुन्छन् हाम्रा केटाकेटी र हाम्रो समाज ? लैङ्गिक असमानता ल्याउने हाम्रा सन्देश तथा व्यवहारहरुको आमूल परिवर्तन आजको आवश्यकता हो । आदर्शका महलहरु खडा गरेपनि बालबालिकाहरुले पढ्ने पूर्व प्राथमिक तहका पाठ्यपुस्तक देखिनै जान अनजानमा भएका लैङ्गीक असमानताका बुँदाहरुलाई हटाउन सकिरहेको छैन हाम्रो शिक्षा प्रणालिले पनि । तब यस्तो अवस्थामा कसरी भन्न सकिन्छ कि छोरा र छोरीमा एकरुपता र समानताको आवश्यकता र समानता भएको छ भनेर ।

नेपालमा ५१ प्रतिशत जनसंख्या महिलाहरुको छ भन्ने गरिन्छ र कुनै पनि स्थानमा ३३ प्रतिशतको हिस्सेदारी महिलाको हुनपर्छ भनेर भनिएको छ तर यस्तो हुन सकेको छैन । महिला र पुरुषका लागि वेग्लावेग्लै चालचलन, इच्छा, व्यक्तित्वका गुणहरु तथा व्यवहारहरु निर्माण गर्नमा हाम्रो समाजमा चलिरहेको र जरा गाडेर बसेको पुरुष प्रधान सामाजिक संरचना नै पूर्ण रुपमा जिम्मेवार छ भनेर भन्दा खासै गलत नहुन सक्छ । यहाँको हाम्रो रीतिरिवाल, चालचलन, व्यवहार विचार सवै मिलेर लैङ्गिक असमानताको यस्तो डरलाग्दो खाडल खनेका हुन् । प्रत्येक समाजमा कटाकेटीहरुका र महिला पुरुषका लागि बेग्लाबेग्लै नियमहरु बनाईएको छ । जसले गर्दा उनीहरुको दैनिक जीवन तथा भविष्यलाई समेत नियन्त्रण गरेको छ । सदियौंदेखि हाम्रो समाजमा महिलाहरुको शारीरिक बनोटका कारणले नै उनीहरु पुरुषहरुको अधिनमा रहनुपर्दछ भन्ने सोचाइले जरो गाडेके छ । यो पुरुषप्रधान समाजकै उपज मान्न सकिन्छ । महिला तथा पुरुष दुवैको सामाजिक तथा साँस्कृतिक भूमिका, अधिकार र स्रोत साधनमा भिन्नता गर्दै समाजले नै फरक फरक व्यवहार र मानसिकता विकास गर्न सिकाएको हो । कुनै पनि कार्य गर्दा यि यि र यस्ता यस्ता काम पुरुषले गर्ने र यस्ता काम महिलाले गर्न नहुने भन्ने सिमा निर्धारण गरिएका छन् । कुनै पनि मन्दिरमा पुजापाठ गर्ने कार्यमा पुजारी महिलाको उपश्थिति सुन्य प्राय हुन्छ । तर, त्यही मन्दिरमा महिलाले तयार गरेका धुप, अक्षता, फलफूलहरुको प्रयोग हुन्छ आखिर महिलाले तयार गरेका सामग्री चढाउन हुने तर त्यही महिलाले त्यस स्थानमा गएर पुजा गर्न नहुने भन्ने नियम हाम्रो समाजले जानेर वा नजानेर सदियौं वर्ष पहिले देखिनै चलाउँदै आएको हो ।

हाम्रो समाजमा हुने सबै जसो कामहरु गर्न महिला पनि सक्षम छन् । शारीरिक रचनाको कारण महिलाहरु रजस्वला हुने, बच्चा जन्माउने र दुध चुसाउने गर्दछन् । यसका अतिरिक्त समाजमा त्यस्तो अर्को कुनै काम छैन जुन पुरुषले मात्र गर्न सक्छन् महिलाहरुले सक्दैनन् अथाव प्रजनन सम्बन्धी प्राकृतिक विभेद बाहेक अन्य विभेदहरु सामाजिकरण प्रक्रियाका परिणाम हुन् । महिलाले गर्ने काम पुरुषहरुले पनि गर्न सक्दछन् र पुरुषहरुले गर्ने काम महिलाहरुले पनि गर्न सक्छन् ।

हामी र हाम्रो समाजले जति छोरा र छोरीमा बिभेद गरेका हुन्छौं त्यस्तो अवस्था कदापी छैन । कुनै पनि अवस्थामा छोरीहरु कमजोर हुँदैनन्, छोरालाई जस्तै असल शिक्षा, सन्देश र व्यवहारहरु दियो भने छोरीले पनि गर्न नसक्ने केही हुँदैन । राम्रो शिक्षा दिनुपर्दछ जसले छोरीहरुको भविष्य राम्रो वन्न सकोस्, आत्मविश्वासी तथा सक्षम व्यक्तित्व निर्माण होओस् । हामीले हाम्रा छोरीलाई सानैदेखि शारीरिक सुन्दरतामा होइन छोरीको बलियो मानसिकता तयार गर्नतिर र आफ्नो खुट्टाम उभिन सिकाउनतिर सबै अभिभावक, समाज तथा राष्ट्रले सोचेको खण्डमा छोरीले पनि गर्न नसक्ने अवस्था पक्कै आउँदैन । राम्रो मानसिकता विकास गरिदिन सक्यौं भने छोरीले कुनै पनि काम गर्न म छोरी हुँ नि भनेर भाइ या दाइलाई यस्तो काम गर्न लगाउनु न भनेर अभिभावकलाई आग्रह गर्ने छैनन् ।

छोरीले पनि गरेका धेरै उदाहरणहरु नभए पनि केही निश्चित भने पक्कै छ । बंगलादेशकी बेगम खालिदाजिया, श्रीलंकाकी चन्द्रीका कुमारातुंगा, मदरटेरेसा, म्यारी क्यूरी, भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी, पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टो जस्ता हस्तीहरुले हामी महिला मात्र हौं र हामी राम्री मात्र हुनु पर्छ भन्ने सिकेको भए के विश्वमा यतिका चर्चीत हुन सक्थे होला र ? अवसर पाएमा कोही पनि पछि पर्दैन । पाकिस्तानकी बालिका मलाला युसुफजायी हुन् या नेपालकी पहिलो मन्त्री द्वारीकादेवी ठकुरानी यिनीहरुले आफूलाई महिला वा राम्री हुन पर्ने नारीमा मात्र सिमित राखेको भए कुन ठाउँमा रहन्थे होला ? भर्खरै भारतको विदेशमन्त्री बनेकी सुष्मा स्वराज हुन् या हालै अपदस्त थाइल्याण्डकी प्रधानमन्त्री यिङ्लक सिनावात्रा या त बंगलादेशी लेखक तसलिमा नसरीन यि सबैले आफूले पाएका अवसर र आफूमा आत्मविश्वासालाई उच्च पारेर नै आफू सक्षम भएको उदाहरण पेश गर्न सफल भएका हुन् । नकि भोली राम्री हुन सकिएन भने विक्न गाह्रो हुन्छ भनेर सिंगारपटारमै लाग्दा हुन् त आज उनिहरुको स्थान के हुन्थ्यो होला ?

समग्रमा जे जस्तो कुरा गरेपनि र आदर्श र व्यवहारमा भएका फरकलाई यथार्थमा निकै फरक रहेको सबैको सामु छर्लङ्ग छ । त्यसैले छोरा जस्तो भएपनि छोरी राम्री हुन पर्छ भन्ने मान्यतालाई बदल्नका लागि अरुको मुख ताक्ने र अरुले गरिदिने भन्दा पनि आफैबाट आजैबाट सुरुआत गरेको खण्डमा भोली छोरी राम्री भन्दा पनि सक्षम हुन पर्छ भन्ने दिन अवश्य आउनेछ ।