काठमाडौं, १८ जेठ । होचो माइक्रोमा छड्के परेर यात्री बोलाउँदा जति अप्ठ्यारो हुन्छ, त्यो भन्दा बढी अप्ठ्यारो छ उनको जीवनभोगाइ।
संघर्षदेखि भागेकी छैनन् उनी। काठमाडौंका एकाध महिला सहचालकमध्येकी उनले परिवार चलाउने संघर्षका क्रममा ठूलो सपना सँगालेकी छिन्, माइक्रोबसको चालक बन्ने। झापा शनिश्चरेकी २९ वर्षीया गोमा श्रेष्ठ २७ नम्बर रुट माइक्रोबसकी सहचालक हुन्।
होचा माइक्रोमा उभिएर आधा ज्यान माइक्रोभित्र र टाउको झ्यालबाहिर निकालेर मान्छे बोलाउन उनी खप्पिस भइसकेकी छन्।
उनको कमाइले जेनतेन जिन्दगी धानेको छ। आफू र दुई छोरीको पेटमा माडसम्म पुर्याएकी छन् उनले।
गोेमाका हरेक दिन संघर्षबाट सुरु हुन्छ। दस वर्षकी छोरी र काखे छोरालाई बिहानै चार बजे ओछ्यानमा छाडेर बस स्ट्यान्डतिर जानुपर्छ उनलाई।
ती दस वर्षीया छोरीले भात पकाएर सानो भाइलाई पनि खुवाइवरि भाइको हात समातेर स्कुलतिर लम्कँदा तिनकी आमा घाँटी सुक्ने गरी माइक्रोमा यात्रु बोलाइरहेकी हुन्छिन्, किनकि त्यसबेला अफिस टाइमको चापाचाप र दौडादौड सुरु भइसकेको हुन्छ काठमाडौंका सडकमा।
‘छोरी आफैं खाना पकाएर स्कुल जान्छे, भाइलाई पनि खुवाउँछे,’ दस वर्षीया छोरीको पौरख सुनाउँदै गोमाले भनिन्।
उज्यालो हुन नपाउँदै साना नानी ओछ्यानमै छाडेर काममा जाँदा भने मन अमिलो हुने गर्छ उनको। ‘सानै छन्, केही घटना होला कि भन्ने डर लाग्छ,’ गोमाले भनिन्।
जिन्दगी यति सकसपूर्ण हुन्थेन होला यदि उनले विश्वास गरेर जीवनसाथी बनाएका पतिले पारिवारिक जिम्मेवारीमा उनलाई अलिकति साथ दिएको भए। सँगै सहर पसेका श्रीमान बिस्तारै निष्ठुरी बन्दै गए।
कमाएको सबै पैसा रक्सीमै सकेर आउने, घरमा झगडा गर्ने, कुट्ने पिट्ने गर्न थाले। बेला–बेला कैयौं दिन गायबै हुने, अनि घर आएका बेला पनि घरको सामान बेचेर रक्सीको बोतलमा सक्नुपर्ने। करिब तीन वर्षअघि डेराको सामान बेचेर बेपत्ता भएका श्रीमानको अहिले कुनै पत्तो छैन। नागरिक दैनिकबाट













प्रतिक्रिया