२८ आश्विन २०८३, बुधबार

यसकारण अध्यक्ष बन्न सक्दैनन् माधव नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Bhattarai-Dr

माधव नेपाल पार्टी जीवनमा महासचिव र सार्वजनिक जीवनमा प्रधानमन्त्री भैसके । एउटा एमाले
नेता कार्यकर्ताका लागि योभन्दा उपल्लो मुकाम कुनै हुनै सक्दैन । यति हुँदाहुँदै पनि फेरि नेतृत्वका लागि फालिम लाग्नु, पदलोलुपताको योभन्दा पराकाष्ठा के हुन सक्छ र ? त्यसैले आफ्नो लोभी छवि सुधार्नका लागि पनि उनले मिडप्याक गरेर फेस सेभिंग गर्नु श्रेयस्कर हुन्छ । यो लोक सुधारिसकेका उनीजस्ता नेताले जति छिटो अवकास लिन्छन्, त्यति नै छिटो यो मुलुक गियर चेन्जको मुडमा आउँनेछ ।


कुनै समय नेपालमा एउटा विज्ञापनको पे अफ लाइन निकै चर्चित थियो, हात्ति र हात्तिछाप उस्तै उस्तै हुन् नानू । हुन त कहाँको हात्ति, कहाँको हात्तिछाप चप्पल ?, उस्तै हुने त कुरै थिएन । तर, पनि त्यो विज्ञापन मानिसहरुको ओठ ओठमा झुन्डिएको थियो । ब्रान्डको पोजिसनिंगमा खासै असर नपारे पनि ब्रान्ड रिकल र टेस्टिंगमा त्यसको ठूलो प्रभाव थियो । हात्तिछाप चप्पल इतिहासको गर्तमा कहाँ पुरियो, डोब पनि भेटाउन गाह्रो छ, यद्यपि मानिसहरुले हात्तिछाप चप्पलको सम्झना गरिरहेक भेटिन्छ । केही मिल्दो हैन, नमिल्दोबीच तुलना गर्नुपर्यो कि आज पनि मानिसहरु भनी हाल्छन्, हात्ति र हात्तिछाप उस्तै उस्तै हो नानू । त्यसको अर्थ नबुझ्ने कतिपय मानिसहरु भने मिल्ने कुराका लागि पनि तुलना गर्न यो पे अफ लाइन प्रयोग गर्छन् । यो बेग्लै कुरा भयो ।

एमालेको नवौं महाविधवेसन दैलामैै आइपुगेको छ । पूर्वमहासचिव माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी ओली दल बलसहित नेतृत्वका लागि मैदानमा उत्रेका छन् । यी सेनापतिका लागि सिंगो एमाले ठाडो चिरामा विभाजित छ । दुबैतिर नेता कार्यकर्ता बाँडिदा अहिले बल्ुख हस्तिनापुरको स्थितिमा छ, एकले अर्कोलाई कौरव ठान्नेहरु आफूलाई भने पाण्डव बताउन छोडेका छैनन् । को पाण्डव, को कौरव?, त्यो त दृष्टिकोणको कुरा भयो, त्यसको छिनोफानो भने केही दिनमै एमाले महाधिवेसन प्रतिनिधिले गर्नेछन् । उनीहरुको दृष्टिमा जो युधिष्ठिर ठहरिन्छ, उसैलाई हस्तिनापुररुपि बल्खु प्राप्त हुनेछ । तर, एमालेका दुई शीर्ष नेता भने आफूलाई युधिष्ठिर बनाउनेभन्दा पनि अर्कोलाई दुर्योधन बनाउने उपक्रममा पौठेजोरी खेलिरहेका छन् । यस्तो नेगेटिव इलेक्सन क्याम्पेनमा नकिंग कपीको ठूलो भूमिका हुन्छ । अहिले, सिंगो एमाले मिसन पत्रकारिता दुई भागमा बाँडिएर रंगिविरंगी नकिंग कपी लेख्नमा व्यस्त छ । एक किसिमको इम्बेडेड कम्ब्याट पत्रकारिता नै भने पनि हुन्छ यसलाई । यी कपी र पत्रकारिता हेर्दा, लाग्छ एमालेको सत्रु बाहिर खोज्नै पर्दैन, एमालेभित्रै छ । त्यही शत्रुको खोजीमा एमाले पत्रकारहरु सर्पले मात्र सर्पको खुट्टा देख्ने उक्ति नापिरहेका छन् । अव यो खेलमा को हात्ति र को हात्तिछाप चप्पल बनाइने हो, त्यो मात्रै हेर्न बाँकी छ । भलै, अहिलेका लागि दुबै पक्षले आफूलाई हात्ति नै ठानिरहेका छन् ।

एमाले नेतृत्वको तीव्र ध्रुवीकरणमा दुबै पक्षले सही अंकगणित सार्वजनिक गरेका छैनन् । दुबै पक्षले आफ्नो पक्षमा दुईतिहाइ भएको दाबी गरिरहेका छन् । दुबै पक्षको दुईतिहाइ यो आफैंमा अमिल्दो अंकगणित हो । बाहिरबाट हेर्दा नेपाल र ओलीको उस्तै उस्तै सम्भावना देखिन्छ । रह्यो पार्टी अध्यक्ष झलनाथ खनालको मौनता, यो मौनता महाधिवेसनसम्म नै कायम रहन्छ या सर्वसम्मत नहुने भएपछि कसैको पक्षमा झर्छ, जीत त्यही पक्षको हुने सम्भावना प्रवल छ । सुरुमा ओली पक्षको जुन सुनामी देखिएको थियो, त्यसमा राजनीतिका चतुर खेलाडी नेपालले साम, दाम, दण्ड भेद लगाएर भए पनि धेरै हदसम्म नियन्त्रण गरिदिए । ओलीको स्वास्थ्यस्थितिमा बनाइएको मिडिया अब्सेसनले पनि यो सुनामीलाई बाढीमा अनुवाद गर्ने काम गरेको छ ।

रह्यो एउटा सञ्चारकर्मीका आँखामा को कस्तो भन्ने प्रश्न ? मेरो विचारमा आज एमाले जुन हविगतमा छ, यो बनाउनमा यी दुबै नेताको लगभग उतिकै भूमिका छ । माधव नेपालको १५ वर्षे महासचिव कार्यकालमा उनका ट्वाइसी थिए ओली । यी दुई नेता मिलेर पार्टीमा आफ्नो विचार समूहको पक्षपोषण नगर्नेेमाथि बुल्डोजर चलाएकै हुन् ।

आजको एमाओवादी र माओवादीमा जे जति एमाले नेता कार्यकर्ता गएका छन्, आधाभन्दा बढी त त्यो बुल्डोजरकै कारण गएका हुन् । जनजाति आन्दोलनमा बाहिरिएका अधिकांश नेता कार्यकर्ता पनि यिनीहरुकै पिरले बाहिरिएका हुन् । त्यसैले एउटै क्याम्पमा बसेर भातभान्सा गरेका यी दुई नेतामा को ठीक र को बेठीक भन्ने प्रश्न नै आफैंमा गलत हो । मिजासका हिसावले छान्दा ओली अलि कडा देखिन्छन् भने नेपाल तुलनात्मक रुपमा केही नरम । तर, ब्यवहारमा ओलीमा जति लचक पाइन्छ त्यति नेपालमा छँदैछैन । नेपाल आफूले बोलेकोलाई तर्क कुतर्क जे गरेर होस्, सदैव सही ठहराइरहेका हुन्छन् । नेपालले पार्टी जीवनमा सबै पाएका छन्, मुलुकको प्रधानमन्त्री, पार्टीका महासचिव । अब उनले पाउनुपर्ने केही नै छैन । तर, ओली झापा आन्दोलनदेखि नै लागेका वरिष्ठ नेता हुँदाहुँदै पनि उनी न प्रधानमन्त्री भएका छन्, न पार्टी महासचिव । त्यसैले दोहोर्याइ तेहेर्याइ नेपाललाई पार्टी सुम्पनुभन्दा ओलीलाई एकपटक र पहिलोपटक मौका दिनु किमार्थ पनि नाजायज हुँदैन । अझ, स्वास्थ्यको दृष्टिकोणले पनि उनलाई पार्टी नेतृत्व दिनु पर्छ । किनकि, उनको यो रोग पार्टी जीवनकै परिणति हो, कुनै अर्कै कामबाट या विरासतमा प्राप्त भएको हैन । यसको लागि उनी हेयका हैन, सहानुभूतिका पात्र बनाइनुपर्छ । उनको स्वास्थ्यलाई बाहिरकाले जे भने पनि आफूलाई एमाले ठान्ने र भन्नेहरुले खिसिट्युरी र प्रहारको विषय बनाउनु मानवीय हुन सक्दैन । अझ , एमाले सामुहिक पद्धतिमा चल्ने पार्टी ठान्छ आफूलाई । यस्तो अवस्थामा सामुहिक नेतृत्व अभ्यासका लागि पनि नेपालभन्दा ओली नै उपयुक्त पात्र हुन् । ओली स्वस्थ भए भने उनैले पार्टी हाँक्छन्, यसमा दुई मत नै भएन । कथम्कदाचित नेपालले भनेझैं ओली अस्वस्थ नै भए भने पनि उपाध्यक्षले कार्यवाहक चलाउने अवसर पाउँछ, यसबाट नेतृत्वको अवसर मात्र हैन, हस्तान्तरणको लागि समेत मार्गप्रशस्त हुन्छ । नेपाल नेतृत्व एमालेले मात्र हैन, मुलुकले पनि पटक पटक पाएकै हो । अब उनको नेतृत्वमा बदलाको भावना बाहेक कुनै नयाँपन देख्न पाइने छैन । रह्यो अनुभवको कुरा, उनको अनुभव पनि पार्टी जीवनमा मात्र हैन, मुलुकको सुशासनमा पनि देखिएकै हो । आफ्नै श्रीमतीलाई स्वकीय सचिवालयमा सार्नेदेखि, भाइलाई महावाणिज्यदूत बनाउनेसम्मका नातावाद कृपावाद पनि देखिएकै हो, भीम रावलको दादागिरीलाई प्रश्रय दिन उनले निर्वाह गरेको धृतराष्ट्र भूमिका पनि देखिएकै हो । पदका लागि जे पनि गर्ने स्वभावका नेपालले प्रधानमन्त्रीका लागि दरवारको पश्चिमढोकामा दरखास्त पनि हालेकै हुन्, दाम राख्ने कुरा त सामान्य नैै भयो । यी सबै पृष्ठभूमिमा एमाले र मुलुकका लागि केही फरक नेतृत्व आवश्यक छ, त्यसका लागि ओली विकल्प हुन सक्छन् । यो बाहिरबाट देखिने चित्र हो । तर, एमाले विचारका कोणबाट भन्दा पनि नेताको फेरो समाउने व्यक्तिवादी पार्टीमा रुपान्तरण भैसकेको अवस्था हो । यस्तो अवस्थामा एमालेको निर्णय गर्ने भनेको तिनै नेतामुखी एमाले कार्यकर्ताले नै हो । अन्य पार्टीलाई त एमाले कमजोर भएको हेर्नुछ, त्यसैले उनीहरु नेपालले जितुन भनेर धुप हालेर बसेका होलान् । तर, एमालेका लागि भने अरुले चाहेको भन्दा फरक नेतृत्व आयो भने मात्र भलो हुन्छ । त्यसैले पनि ओलीको नेतृत्व एमालेका लागि उपर्युक्त हुनसक्छ ।

माधव नेपाल एमाले अध्यक्ष किन हुनु हुँदैन भन्ने पक्षमा लामै सूची बनाउन सकिन्छ । यद्यपि, यो स्तम्भकार, माधव नेपाललाई पद बिना बाँच्नै नसक्ने एक पदलोलुप प्राणी ठान्छ र त्यसका लागि सयौं उदाहरण मात्र हैन नजीर नै प्रस्तुत गर्न सकिन्छ । चुनाव हारे पछि पार्टी महासचिवबाट दिएको राजीनामाले उनको त्यागको् बैतरणी तार्न सक्दैन । यो निर्णय तत्कालिन सन्दर्भमा जाँचिनुपर्छ । दोस्रो उनी अत्यन्त सानो चित्त भएका मनुवा हुन् । ससानो कुरा र ससाना व्यक्तिसंग पनि उनी यति ठूलो इख राखिराखेका हुन्छन्, त्यसका लागि उनीसँग बहीखाता नै हुन्छ भने पनि हुन्छ । जुन उनीजस्तो पदले ठूलो कद भएका मानिसलाई सुहाउँने कुरै हैन ।

विट मार्नुअघि सन्दर्भ हात्ती र हात्तीछाप चप्पलकै गरौं । पदले नेपाल हात्ती भए होलान् तर प्रतिष्ठाले उनी हात्तिछाप चप्पले नै हुन् । बाहिरबाट हेर्दा उनी हात्ती पनि देखिएलान् तर एमाले पंक्तिबाट हेर्दा ब्रान्ड पोजिसनिंग बिनाका यी नेता फेरि पनि हात्तीछाप चप्पले जस्तै हुन् । यो स्तम्भकार विज्ञापनको कपी लेख्ने सर्जक पनि भएकाले माधव नेपालका लागि यही नै पे अफ लाइन सिफारिस गर्न सक्छ, कुखुराको पित्त र माकुनेकोे चित्त उस्तै उस्तै मात्र हैन, उस्तै नै हुन् नानु । मलाई थाहा छ, यो पढेर उनी रिसाउने मात्र हैन, मसँग बदला लिने बहीखाता नै राख्छन् । म जस्तो तपाईकै महासचिवकालमा पार्टी नै गुमाइसकेको पूर्वएमाले र कुनै पद बिना बाँच्न नै नजानेको मनुवाले गुमाउनु नै के छ र कमरेड ? मेरो सझाव छ, मिडप्याक गरेर फेस सेभिंग गर्नुस् । यो लोक त सुधारी सक्नुभयो, अब त परलोक सुधार्नेतिर लाग्नुस् । आगे, यहाँकै मर्जी ।