धनगढी, १६ असार । कार्बाइड नामक हानिकारक रसायन प्रयोग आँप पकाएर जनताको स्वास्थ्यमा गम्भीर असर पार्ने धनगढी कैलालीका विभिन्न व्यापारीबाट करिब रु छ लाख मूल्य बराबरको दश हजार किलो आँप जफत भएको छ ।
कार्बाइड प्रयोग गरी पकाइएको आँप स्थानीय बजार क्षेत्रमा निर्वाध रुपमा बिक्री भइरहेको गुनासो बढेपछि संयुक्त बजार अनुगमन समिति कैलालीले आँप जफत गरेको हो ।
अनुगमन टोलीले यस्तो आँप जफत गरेको अनुगमन टोलीमा संलग्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सञ्जीवकुमार कर्णले बताउनुभयो ।
उपभोक्ताको गुनासोपछि संयुक्त बजार अनुगमन समितिले शनिबार गरेको अनुगमनका क्रममा धनगढीका विभिन्न व्यापारीबाट बिक्री भइरहेको र बिक्रीका लागि भण्डारण गरिएको अवस्थामा आँप जफत गरिएको हो ।
बजार अनुगमनका क्रममा धनगढीका फलफूल व्यापारी अफजाल अहमद, गुड्डु अन्सारी, विकास शाह, सूर्यचन्द्र, भोजराज बोहरा र सञ्जित शाहको फलफूल पसलबाट यस्तो आँप जफत गरिएको हो ।
मानव स्वास्थ्यका लागि हानिकारक रसायन कार्बाइडको प्रयोग गरी आँप पकाउन खाद्य ऐनले प्रतिबन्ध लगाएको भएपनि व्यापारीमा अन्धाधुन्द रुपमा यो रसायनबाट आँप पकाई बिक्री गर्ने प्रवृत्ति बढेको छ ।
यसरी पकाइएको आँपको उपभोगले मानिसमा स्नायु र छालासँगसम्बन्धी रोगहरु देखिने, मिर्गाैलामा असर पु¥याउने, क्यान्सर हुन सक्ने, गर्भवती महिलाले यस्तो आँप बढी उपभोग गरेमा जन्मिने बच्चा विकृत हुने खतरा रहेको खाद्य अनुसन्धान अधिकृत कर्णले बताउनुभयो ।
खाद्य ऐनमा यस्तो खाद्य पदार्थ बिक्री वितरण गर्नेलाई रु १० हजारदेखि रु २० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । यी व्यापारीहरुमाथि खाद्य ऐनअनुसार मुद्दा चलाउने प्रक्रियासमेत अघि बढाइएको छ ।
यस जिल्लाको ८०० हेक्टर जमिनमा आँपको खेती हुने गरेको छ । गत वर्ष १२ हजार टन आँप उत्पादन भएकामा यस वर्ष तीन हजार टनभन्दा कम परिमाणको आँप मात्र उत्पादन हुनसकेको कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
कैलालीमा अहिलेसम्म आँपको व्यावसायिकखेती भने नगण्य रुपमा रहेको छ । एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने वा फलेपनि निकै कम परिमाणमा फल्ने आँपको जातीय गुण रहेको जोशीले बताउनुभयो ।














प्रतिक्रिया