“मेरो त ट्रेजेडी भयो यार ! एक महिना अघि मात्र फेसबुकबाट लभ परेको थियो । हिजो एसएमएम गरेर ब्रेक अप दिइन् ।” काठमाण्डौका टिनएजर सुनिल श्रेष्ठले फेसबुक च्याटमा भन्दै थिए । फेसबुकमा एकमहिने लभ पारेका श्रेष्ठले दुईचार डेटिङ पछि नै मोबाइलबाट ब्रेकअप पाए । कुरा सुनिलको मात्र होइन । अहिलेको युवा पुस्ताका लागि फेसबुक लभ सामान्य जस्तै हो । यसो फेसबुकमा खोज्यो । मनपरेको भेट्यो भने “एड” गर्यो । अनि च्याट गर्यो । अनि त सुरु भइहाल्छ , “डेटिङ” । जति छिटो लभ पर्छ, त्यत्ति नै छिटो ब्रेकअप । काठमाण्डौं कै नीतिन शाही अहिले कक्षा ११ मा पढ्दै छन् । कक्षा ११ सम्म आइपुग्दा उनको पनि ५ पटक लभ र ५ पटक नै पटक ट्रेजेडी परेछ । अहिले भने उनको त्यही कलेजमा नै १२ कक्षामा अध्ययनरत एकजना केटीसँग लभ परेको छ । डेटिङ जांदैमा फुर्सद छैन । उनलाइ अहिले ति केटीलाई धेरै नै माया गर्न थाले जस्तो पनि लागेको रहेछ । नेपाली युवापुस्तामा अहिले महिनामा एकपटक लभ पर्ने अनि ट्रेजेडी पर्ने समेत हुने गरेको छ । अहिलेका युवा पुस्तामा माया र धोका भन्ने शब्द सामान्य भइसकेको छ । माया पाउन अनि माया गुमाउन अहिले साह्रै नै सजिलो भएको छ । बिशेषगरी टिनए
जको समयमा छुट्टै जोश र जाँगर हुन्छ । र यही समय हो, युवाहरुको मन चञ्चल हुने । यही समयमा युवायुवतीहरु आफ्नो लागी साथी खोज्ने अभियानमा हुन्छन् । गर्लफ्रेन्ड वा व्यायफ्रेन्ड नभए त साथीहरुमाझ हांसोको पात्र बन्नुपर्ने हुन्छ । सबैले “विचरा” भनिदिन्छन् । कुनै समय थियो, युवायुवतीहरु कसैप्रति आकर्षित भएमा लामो प्रयासपछि बल्ल तल्ल कागजमा मायाका शब्द लेखेर कसैको हातबाट पुर्याउनुपर्ने हुन्थ्यो । फेरि त्यसको जवाफ पनि कहाँ चाँडै आउँथ्यो र ? स्वीकार गर्ने हो कि अस्वीकार गर्ने हो भन्ने डर बोकेर कुनुपथ्र्यो । कहिले जवाफ आउथ्यो कहिले आउदैनथ्यो । त्यो समयमा न कुनै केटा वा केटीले हतपत प्रेम प्रस्ताव राख्ने आँट नै गर्थे , न त राखिएको प्रस्ताव हतपत स्वीकार्ने आंट नै गर्थे । कति केटीहरु त पहिलो प्रेम प्रस्ताब आउँदा डरले रोएको समेत अनुभव सुनाउँछन् । तर समय अहिले त्यस्तो छैन । सुचना प्रविधिको विकाससँगै अहिले युवाहरुमाझ हुने माया पनि सहज भएको छ । युवाहरु आजभोलि फेसवुक लगायतका सामाजिक सञ्जालहरुबाट परिचय बनाउछन् । अनि सुरु हुन्छ माया प्रिती । फेसवुक बाटै माया प्रिती गाँसिएपछि विवाह पनि भएको पाइन्छ । पहिले कागजमा लेखेर माया साटासाट गर्नको लागि जति समय लाग्थ्यो अहिले त त्यती सयमसम्ममा माया बसेर ब्रेकअप पनि भइसकेको हुन्छ । अनि अर्काे डेटको लागि समेत तयार भइसकेका हुन्छन् युवायुवतीहरु । फेसबुक वाहेक मोबाइल फोन पनि प्रेम प्रस्तावका लागि सजिलो माध्यम बनेको छ ।
यतिसम्म भइसकेको छ कि मावबाइलमा कुरा हुँदाहँदै लभ पर्छ अनि कुरा हुँदाहुँदै ब्रेकअप पनि भइसक्छ । विशेषत कक्षा ९ देखि प्लस टुसम्मका बिद्यार्थीहरु कसै प्रति आकर्षित हुनासाथ मोवाइल नम्बर साटासाट गरिहाल्छन् । त्यसपछि शुरु हुन्छ वार्तालाप । भेटघाट नभइकनै मोवाइलमा हुने घण्टौको कुराकानी मै लभ शुरु हुन्छ । अनि फोनमै डेटिङ पनि हुन्छ । अनि रोमान्टिक गफ पनि । त्यसपछि विस्तारै सानातिना कुरामै झगडा पनि शुरु हुन्छ । अनि ब्रेकअप । अनि फेरि अर्काे डेटिङका लागि प्रोसेस सुरु हुन्छ । युवापुस्ता माझ अहिले गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड फेरिरहने त परम्परा नै बसिसकेको छ । कति युवालाई एउटै गर्लफ्रेण्ड लामो समयसम्म राख्दा साथीहरुले हेप्लान् भन्नेसम्मको डर हुन्छ । अहिलेका युवापुस्तामाझ प्रेम र धोका सामान्य भइसकेको छ ।
सितापाइलाका रमेश अधिकारी भन्छन् – “गर्लफ्रेण्ड बनाएर के भयो ? बिहे गर्नुपर्ने होइन । टाइमपास त हो नि । ” अहिलेको युवापुस्ताले मायालाई मनोरञ्जन र टाइम पासका रुपमा हेर्न थालेका छन् । केटाहरु अहिले फेशनवेल केटी देख्नासाथ आफ्नो केटा साथीहरु माझ “हिरो” हुनका निम्ति प्रेम प्रस्ताव राख्न पुग्छन् । अनि यो मामलामा केटीहरु पनि कम छैनन् । केटीहरु पनि वाइकवाला केटा भएपछि प्रेम प्रस्ताव स्वीकारिहाल्छन् । अझ अचेल केटीहरु आफै पनि राखिहाल्छन् प्रेमप्रस्ताव । भक्तपुरकी रिना श्रेष्ठको पनि यस्तै सोच छ । उनको ब्वाइफ्रेण्ड बन्नको निम्ति न्युनतम योग्यता बाइक नै हो । उनी भन्छिन् –“ब्याइफ्रेन्डको एउटा बाइक त चाहियो नि हो । कलेज जान र डेटिङ जान बाइक छैन भने त्यस्ता केटासंग के लभ गर्नु ?” काठमाण्डौकी सविनाको विचार पनि रिनासंगै मिल्दोजुल्दो रहेको छ । उनलाई त अझ बाइकले मात्र पनि पुग्दैन रे । उनका लागि कुनै केटाको न्युनतम योग्यता बेलाबेलामा डिस्को जानुपर्ने र फेशनेवेल हुनुपर्ने रहेको छ । १९ वर्षका सुरज केसीको भने अर्कै पीडा छ । मलिन अनुहार पार्दै उनले दुखेसो पोखे –“म मेरो गर्लफ्रेण्डलाई धेरै माया गर्थें तर उनलाइ भर्खर अष्ट्रेलियाबाट आएको धनी केटाले बिहेको प्रस्ताव राखेपछि उसैसंग विहे गरेर अष्ट्रेलिया गइन् । अनि मलाइ तिमी मेरो लायक छैनौ भनेर एसएमस गरिन् । ” अहिलेका युवापुस्तामा मायाप्रेमको मूल्य कति र कुन स्तरमा छ भन्ने बुझ्न यही घटना नै काफी हुन्छ । अहिलेका तन्नेरी पुस्तामा त फेसवुकको स्टाटसमा महिनै पिच्छे माया वसेको र ब्रेकअप भएको स्टाटस भएन भने फेसबुक चलाउने पनि बोरिङ हुन्छ भन्ने मान्यता बस्दै गएको छ । फेसवुक माया प्रिती गाँस्ने सजिलो माध्यम भएको छ युवापुस्ता माझ । प्रेमलाई टाइमपासका रुपमा लिने प्रचलन बढ्दै गएको छ । प्रेमलाई हलुका ढंगले बुझेर विवाह नै गर्नेहरुका सम्बन्ध पनि धेरै समय टिकेको पाइदैन । अर्कातर्फ प्रेमकै नाममा दुर्घटनासमेत हुने गरेको छ । त्यसैले फेसबुकमा लभ पार्नुअगाडि प्रेममा एकअर्कालाई एकदमै नजिकबाट पनि बुझ्न जरुरी हुन्छ भनेर एकपटक राम्ररी सोंच्ने हो कि ?












प्रतिक्रिया