काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले हङकङ, चीन, मकाउ र थाइल्याण्डका गैरआवासीय नेपालीले अयोजना गरेका बिभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।
एनआरएन भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले आयोजित कार्यक्रममा अध्यक्ष घले प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो । साथै उहाँले नेपालमा लगानीका अबसरबारे आयोजित बिभिन्न कार्यक्रममा सहभागीता जनाउनुका साथै एनआरएन चीन र थाइल्याण्डका बार्षिक बैठकमा समेत सहभागी हुनुभयो ।
जुन २० तारिख हङकङ पुग्नुभएका अध्यक्ष घले सोही साँझ भवन निर्माणका लागि सहयोग जुटाउने उदेश्यले आयोजित डिनर तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा उहाँले भवन निर्माणसँग सम्बन्धित बिभिन्न पक्षबारे जानकारी दिनुभयो । सोही कार्यक्रममा एनआरएन हङकङले १७ लाख रुपैयाँ संकलन गर्दै निर्धारित ३० लाख रुपैयाँको लक्ष्य सजिलै पुरा गर्ने जानकारी दियो ।
शनिवार बिहान हङकङका लागि नेपाली महाबाणिज्य दूतावासले आयोजना गरेको ‘नेपालका लगानीका अबसर’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभयो । महाबाणिज्यदूत महेशप्रसाद दाहालले नेपालमा लगानीका अबसरबारे कार्यपत्र पेश गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि घलेले टिप्पणी गर्नुभएको थियो ।
सोही दिन दिउँसो चीनको ग्वान्जाउ पुग्नुभएका अध्यक्ष घले एनआरएन चीनको सातौं बर्षिक वैठकमा सहभागी हुनुभयो । वैठकले अमृता थापालाई कार्यबाहक अध्यक्ष चयन गरेको छ । केही महिनाअघि तत्कालिन अध्यक्ष सुन्दर थापाको निधन भएसँगै सो अध्यक्ष पद रिक्त थियो ।
सोही साँझ एनआरएन चीनले आयोजना गरेको डिनर कार्यक्रममा अध्यक्ष घले र महाबाणिज्यदूत दाहालसमेत सहभागी हुनुभयो । कार्यक्रममा काठमाण्डौमा एनआरएन भवन निर्माणका लागि २ लाख रुपैयाँ सहयोग संकलन गरियो । सोही अबसरमा एनआरएन अध्यक्ष घलेले एनआरएन चीनका पूर्व अध्यक्ष स्वर्गीय सुन्दर थापाको स्मृतिमा बनाइएको कोषलाई २ हजार अमेरिकी डलर सहयोग गर्नुभयो ।
२२ तारिख मा मकाउमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष घले र महाबाणिज्यदूत दाहाल सहभागी हुनुभयो । एनआरएन मकाउका पदाधिकारीहरुले उहाँलाई स्वागत गर्दै काठमाण्डौमा निर्माण हुन लागेको एनआरएन भवनका लागि तोकिएको २ हजार डलरको लक्ष्यभन्दा दोब्बर अर्थात ४ हजार डलर सहयोग गर्ने घोषणा गर्नुभयो ।

सोही दिन साँझ पुनः हङकङ फर्किनुभएका अध्यक्ष घलेलाई एनआरएन हङकङले भब्य स्वागत गर्दै भवन निर्माण र सहयोग संकलन अभियानबारे अन्तरक्रिया आयोजना गरियो । सो अबसरमा मगर संघ हङकङले परम्परागत नौमति बाजाका साथ घलेलाई स्वागत गरेको थियो । सो अबसरमा अध्यक्ष घलेले त्यहाँको नेपाली समुदायलाई सम्बोधन गर्दै आफुलाई गैरआवासीय नेपाली समुदायले दिएको म्याण्डेटअनुसार काम गरिरहेको बताउनुभयो । भवन निर्माण र बैदेशिक रोजगार कल्याणकारी कोष स्थापना आफ्ना मुख्य दुई कार्यक्रम भए पनि नेपाली नागरिकताको निरन्तरता लगायतका बिष्यामा आफुले नेपालका सरकारी निकायसँग निरन्तर लविङ गरिरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा एशिया प्रशान्त क्षेत्रीय संयोजक गंगा राई, एनआरएन आईसीसी सल्लाहकार त्रिलोक गुरुङ, एनआरएन हङकङ अध्यक्ष दुर्गा गुरुङ लगायत एनआरएन पदाधिकारीको उपस्थीति थियो ।

२३ तारिख साँझ थाइल्याण्डको बैंकक पुग्नुभएका अध्यक्ष घले गैरआवासीय नेपाली संघ थाइल्याण्डको पाँचौं बार्षिक बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घलेले गैरआवासीय नेपाली संघले गरिरहेका कामको प्रगतिबारे जानकारी दिनुभयो । एनआरएन भवन बनाउनु संसारभरका गैरआवासीय नेपालीको पहिलो कर्तब्य भएको र थाइल्याण्डमै भएको क्षेत्रीय सम्मेलनबाट यसको घोषणा भएकाले सो कार्य सम्पन्न गर्न आफु दत्तचित्त भएको लागेको बताउनुभयो ।
कार्यक्रममा एनआरएन थाइल्याण्डका अध्यक्ष खगेन्द्र ढकालले तोकिएको लक्ष्यअनुसार गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि रकम संकलन गर्ने जानकारी दिनुभयो ।
सो अबसरमा शिक्षाबाट बञ्चित नेपालीहरुका लागि एनआरएन थाइल्याण्डले खडा गरेको कोषलाई अध्यक्ष घलेले २ हजार अमेरिकी डलर सहयोग गर्नुभयो ।














प्रतिक्रिया