काठमाडौं, १७ जेठ । राष्ट्रपतिले आह्वान गरेको बजेट अधिवेशनको पहिलो दिन नै विपक्षी दलको अवरोधका कारण सरकारको प्रि–बजेट छलफल विफल भएको छ।
धेरै वर्षपछि यसपटक प्रि–बजेट छलफलका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारले गरेको आग्रहपछि शुक्रबार १ बजेका लागि बैठक बोलाइएको थियो।
संविधानसभा सचिवालयले भने शुक्रबारदेखि आगामी बजेट निर्माणमा समावेश गर्ने विषयमा छलफल गर्ने कार्यसूची तय गरेको थियो। तर कार्यसूचीमा प्रवेश नै गर्न नपाई बैठक स्थगित गरियो। विपक्षीको अवरोधका कारण सरकारले प्रि–बजेट छलफलपछि जेठ ३० मा पूर्ण बजेट ल्याउन गरेको तयारी पनि प्रभावित हुने देखिएको छ।
विपक्षी दलका नेताले सरकारको पछिल्लो कामगराइ सन्तोषजनक नभएको भन्दै चर्को आलोचना मात्र गरेनन्, भएका सहमति कार्यान्वयन नभएसम्म सदनका कुनै पनि कामकारबाही अघि बढ्न नदिने घोषणासमेत गरे।
त्यति मात्र नभई सत्तारुढ दलबीच नै एकअर्कामा आशंकाको बिउ रोपिने अभिव्यक्तिसमेत दिन भ्याए।
विपक्षी दलले उठाएका मुद्दामा सत्तारुढ दलबीचको धारणा एकै नभएकाले पनि विपक्षी दलका नेताले बोल्दा सत्तारुढ दलले पालैपालो ताली पिट्न भ्याएका थिए।
बैठकको सुरुमै विपक्षी दलका नेता पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसले चार अर्बभन्दा बढी रकम रकमान्तर गरेर अनावश्यक खर्च गरेको बताएपछि एमालेका सभासदले समर्थन गर्दै ताली पिटेका थिए। दाहालले सम्बोधनकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकको बढुवा सिफारिसमा करोडौं चलखेल भएको बताउँदा कांग्रेस सभासदहरुले ताली पिट्न भ्याए।
बैठक सुरु हुनासाथ विपक्षमा रहेका सबै दल उठेर विरोध जनाएपछि बैठक चल्न सकेन। पहिलो दिनको बैठक नै अवरोध नहोस् भनी सभामुख सुवासचन्द्र नेम्वाङले एक घन्टाका लागि स्थगित गरे पनि पछि सदन सुचारु हुन सकेन। नागरिक दैनिकबाट













प्रतिक्रिया