सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

यूएई दुतावासलाई १६ बुंदे ज्ञापन पत्र, महिनाको पहिलो शुक्रवार दुतावास खुल्ने

दैनिक नेपाल २०७१ जेठ १६ गते १३:१४

Deligation to UAE Embassyउत्तम अधिकारी

आबुधाबी – यूएई १६ जेठ । यूएईमा कृयाशील प्रमुख ३ दलका प्रवास संगठनहरु र गैर आवासीय नेपाली संघले नेपाली राजदुतावास यूएईलाई नेपाली श्रमिकहरुको समस्या र तीनका समाधानका उपाय सहित संयुक्त रुपमा १६ बुंदे ज्ञापन पत्र बुझाएका छन्।

संयुक्त टोलीले गत बुधवार आबुधाबी स्थित नेपाली राजदुतावास पुगी यूएईका लागि नेपाली राजदुत धनन्जय झा समक्ष यूएईमा नेपाली श्रमिकहरुमाथि आइपरेका बिभिन्न समस्याहरुलाई समाधान गर्नका लागि उचित कदम चाल्न अत्यावस्यक रहेको भन्दै उक्त ज्ञापन पत्र बुझाएको हो  दुतावासका नियोग उपप्रमुख नेत्र बहादुर टण्डन र श्रम सहचारी हिरादेवी पौडेल सहितको उपस्थितिमा उक्त ज्ञापन पत्र बुझाइएको थियो ।

राजदुत झालाई बुझाइएको उक्त ज्ञापन पत्रमा नेपाली सेवाग्राहीहरुको सुविधाका लागि उनकै कार्यकालमा शुरु गरिएको हरेक महिनाको पहिलो शुक्रवार दुतावास खुल्ला रहने प्रावधानलाई निरन्तरता दिनुपर्ने, दुतावासमा एमआरपी बनाउन तथा अन्य कागजात प्रमाणित कार्यलाई ब्यबस्थित तरिका अपनाइ टोकन प्रणाली लागु गर्नुपर्ने, नेपाल सरकारको तर्फबाट यूएईमा हुने कुनैपनि औपचारिक भ्रमणमा यूएईमा कृयाशील नेपाली राजनीतिक दलका प्रवास संगठन, एनआरएन र सामाजिक संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराइनु पर्ने, भिजिट भिसामा रहेको संकुचित नाताको नियमलाई फराकिलो बनाइनु पर्ने लगायतका माग छन ।
ज्ञापन पत्रमा घरेलु कामदारमा यूएई आउने महिला दिदीबहिनीको लागि सुरक्षित वातावरण श्रीजना गर्दै अवैधानिक रुपमा भारत हुँदै सेटिङ मिलाएर आउने कार्यलाई पूर्ण रुपले बन्देज लगाईनु पर्ने, नेपाल र यूएई सरकार बीच अविलम्ब दोहोरो श्रम सम्झौता गरिनु पर्ने, दुतावास भवन परिसर सफा सुग्घर राख्नको लागि यथोचित ब्यबस्था मिलाउनु पर्ने, छिटो छरितो र जनमुखी सेवा प्रदानका लागि दुतावासको ध्यान पुग्नुपर्ने र चुस्त रुपमा कार्य सम्पादनका निमित्त स्थानीय स्तरमै भएपनि कर्मचारी नियुक्ति गर्नुपर्ने तथा समस्याको दिर्घकालिन समाधानका लागि पररास्ट्रसंग कर्मचारी माग गर्नुपर्ने, एक पटक बैदेशिक रोजगारमा यूएई आएको व्यक्ति पुन: रोजगारीका लागि यूएई आउन चाहेमा कुनै बन्देज नलगाई आउन दिने प्रावधान मिलाउनु पर्ने उल्लेख गरिएको छ ।

पर्सनल भिसामा यूएईका प्रतिष्ठित कम्पनीमा नेपालीहरुलाई सहज तरिकाले आउने वातावारण मिलाउनु पर्ने, नेपालका म्यानपावर कम्पनीले बिभिन्न झुटा,गलत कागजात बनाई यूएई पठाएर कोही नेपाली नागरिक ठगिएमा त्यस्तो ठगि गर्ने म्यानपावर कम्पनीलाई पुन: नयाँ कन्ट्रयाक्टको स्विकृती नदिने र कारवाहीका लागि सिफारिस गर्नुपर्ने लगायत बिषय समेटिएका छन् ।

नेपाल सरकार पररास्ट्र मन्त्रालय, श्रम मन्त्रालय र मुख्य सचिव समेतलाई बोधार्थ गरिएको सो ज्ञापन पत्रमा नेपालमा हुने श्रम स्वीकृति र श्रम नवीकरणलाई ब्यबस्थित बनाइनु पर्ने, यूएईमा अत्याधिक नेपाली श्रमिकहरु रहेका दुबई शहरमा यथाशिघ्र नेपाली दुतावासको कन्सुलर अफिस स्थापना गर्न आवस्यक ब्यबस्था मिलाउनु पर्ने, वर्तमान संविधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नेपालको नयाँ संबिधान समयमै जारी गर्नुपर्ने तथा दुतावास परिसर भित्र एनआरएन डेस्क स्थापनाका लागि स्वीकृति प्रदान गर्नुपर्ने लगायतका बिषयहरु उल्लेख गरिएको छ।

नेपाली जनसम्पर्क समिति यूएईका अध्यक्ष चित्र बहादुर केसी, प्रवासी नेपाली मंच यूएईका अध्यक्ष प्रकाश कोइराला, नेपाली जनप्रगतिशील मंच यूएईका अध्यक्ष हेमन्त पौड्याल, गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका मध्यपूर्व संयोजक चन्द्र रोकाहा र संघकै एनसीसी यूएईका अध्यक्ष कृष्ण प्रसाद भुसालको संयुक्त हस्ताक्षर रहेको उक्त ज्ञापन पत्रका बिषयमा दुतावासमा झन्डै २ घण्टा छलफल भएको थियो।

छलफलका क्रममा राजदुत झाले दुतावासले आफ्नै ताजबिजले सम्बोधन गर्न सक्ने बिषयलाई लागु गर्ने प्रतिबद्धता जनाएका छन् | शुक्रवार बाहेक अरु दिन छुट्टी नहुने र यूएईका टाढा टाढाका स्थानबाट बिभिन्न कामका शिलशिलामा दुतावास आउने सेवाग्राहीलाई सुबिधा प्रदानका लागि प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रवार झा कै बिशेष पहलमा दुतावास खुल्ला रहने व्यवस्था गरिएको थियो ।

२०१४ को मई महिना सम्म दुतावास पहिलो शुक्रवार खुल्ला रहेपनि केहि दिन अघि मात्रै सूचना प्रकाशित गरि आगामी जुन महिनाबाट उक्त सेवा बन्द गरिएको सूचना प्रकाशित भएको थियो ।

राजदुत झाले शुक्रवार सेवाग्राहीहरुको अत्यन्तै ठुलो भिडभाड हुन थालेकाले बन्द गर्नुपरेको बताएका थिए | ज्ञापन पत्र बुझाउन गएको संयुक्त टोलीले त्यसका लागि जनशक्ति अभाव भए आफुहरुले संयुक्त रुपमै भोलेन्टियरको ब्यबस्था मिलाउने भन्दै उक्त बिषयलाई पहिलो प्राथमिकतामा राखेपछी राजदुतले त्यसमा सहमति जनाएका छन् |

त्यसैगरी राजदुत झाले तत्कालको समस्या समाधानका लागि स्थानीय स्तरबाट २ जना कर्मचारी नियुक्तिका लागि प्रकृया अघि बढाएको उक्त अवसरमा जानकारी गराएका छन् । ज्ञापन पत्रमा उठाईएका कतिपय बिषय पररास्ट्र मन्त्रालय, श्रम मन्त्रालय र बैदेशिक रोजगार प्रबर्द्धन बोर्डले मात्रै सम्बोधन गर्न सक्ने भएकाले ती निकायसंग सरोकार राख्ने बिषयलाई सम्बन्धित निकायमा पठाइने राजदुत झाले बताएका छन्।

ज्ञापन पत्र बुझाउने क्रममा हस्ताक्षरकर्ता सहित प्रवासी नेपाली मंचका उपाध्यक्ष महेश गिरि, महासचिव उत्तम अधिकारी तथा सदस्यहरु श्याम पाठक, श्याम कंडेल र भरत राना, जनसम्पर्क समितिका महामन्त्री बिमल तामांग, जनप्रगतिशील मंचका सदस्य कुल आचार्य, एनआरएनए यूएईका उपाध्यक्ष बिकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो |

 

प्रतिक्रिया
सम्बन्धित