काठमाडौं, १६ जेठ । लागुऔषध कारोबार आरोपमा जेल परेका धालिङका अजय सेढाईंलाई जेल परेकोमा कुनै पछुतो छैन । जेलमै बसेर उनले काठमाडौंमा घर बनाएका छन् ।
सुन्धारास्थित भद्र जेलमा आठ वर्षसम्म चौकीदार हुँदा उनी लखपति बनेका हुन् । स्रोतका अनुसार जेलमा चलखेल गरेर लाखौं कमाउनेहरुको संख्या ठूलो छ ।
प्रशासनसँगको मिलेमतोमा जेलभित्र आर्थिक चलखेल हुने गरेको हो । केन्द्रीय कारागार स्रोतका अनुसार चौकीदार र नाइकेहरुले जेलमा महिनाको तीन लाखसम्म कमाउँछन् । पैसा बुझाएको आधारमा कैदीरबन्दीहरुलाई सुविधा दिने, बाहिर जान दिने तथा व्यापारबाट उनीहरुले पैसा कमाउने गरेका हुन् ।
असल आचरण भएका कैदीरबन्दीहरुलाई नै चौकीदार र नाइके बनाएर आन्तरिक व्यवस्थापन गर्ने जेल प्रशासनको नियम छ । तर, चौकीदार र नाइके चयनमा सुध्रिएका कैदीभन्दा पनि आर्थिक रुपमा चलखेल गर्नेहरुलाई नियुक्त गर्ने गरिएको स्रोतको भनाइ छ ।
जेलर र चौकीदारले सहयोग नगर्ने प्रहरी अधिकारीलाई दबाबमा सरुवासमेत गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण डिल्ली बजार कारागार भएको छ ।
आफूहरुलाई सहयोग नगरेको भन्दै इन्स्पेक्टर तेजनारायण यादवलाई एक महिनामा नै त्यहाँबाट हटाएको छ । मूल नाइके दीपक सुनुवार र जेलर खड्गराज शर्माको दबाबमा उनलाई हटाएर विकास भण्डारीलाई ल्याएको स्रोतले बताएको छ ।
जेलभित्र हुने भष्टाचारमा साथ नदिएपछि आफूलाई यसरी हटालिएको यादवले माथिल्लो निकायसँग गुनासो गरेका छन् । नयाँ पत्रिका दैनिकबाट













प्रतिक्रिया