२८ आश्विन २०८३, बुधबार

सम्बन्धन खुलाउन प्रपञ्च

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctorsकाठमाडौं, १६ जेठ । सरकारले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँगको सम्झौता लत्याउँदै करिब डेढ दर्जन मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गर्ने सम्भावना बढेको छ।

थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग पूरा गर्ने सम्झौतासहित केसीको आमरण अनशन तोडाउने क्रममा गठित उच्चस्तरीय सरकारी समितिले नै यसअघि मनशायपत्र लिएका १६ कलेजलाई सम्बन्धन दिन सकिने सुझावसहित प्रतिवेदन तयार पारेको हो।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक केसी यसअघि प्रक्रिया मिचेर, पूर्वाधारबिनै चारवटा मेडिकल कलेज खोल्न सम्बन्धन दिने त्रिविको तयारीविरुद्ध अनशन बसेका थिए। मनशायपत्र लिई मेडिकल काउन्सिलबाट समेत स्वीकृत भइसकेका मनमोहन मेमोरियल, पिपल्स, काठमाडौं नेसनल र नेपाल प्रहरी मेडिकल कलेजको सम्बन्धन केसीकै अनशनले रोकेको थियो। अहिले तीसमेत १६ लाई सम्बन्धन दिन सकिने प्रतिवेदनको मनशाय छ।

उक्त समितिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सम्बन्धन दिँदै आएका त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय तथा हालसम्म सम्बन्धन नदिएका अन्य विश्वविद्यालयबाट पनि सम्बन्धन दिन सकिने सुझाव दिने तयारी गरेको नागरिकले फेला पारेको प्रतिवेदनमा उल्लेख छ।

केसीसँग पछिल्लो अनशन तोडाउने क्रममा भएको सम्झौताअनुसार शिक्षा मन्त्रालयले माघ २० गते पूर्व शिक्षासचिव जयराम गिरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

समितिको प्रतिवेदनले भने त्यही अनशनपछि स्थगन भएको सम्बन्धन प्रक्रियालाई वैकल्पिक बाटो खुलाउन खोजेको छ। नागरिक दैनिकबाट