बनेपा, १६ जेठ । सातौं गणतन्त्र दिवसका अवसरमा बिहीबार बिहान काभ्रे सदरमुकाम धुलिखेलमा भव्य कार्यक्रम भइरहँदा जनआन्दोलन–२ का गम्भीर घाइते मुकेश कायस्थका परिवारलाई पत्तै थिएन।
यसैले होला, कायस्थको बनेपास्थित घरमा कुनै चहलपहल थिएन। मुकेशका बाबु कृष्णमान र आमा मीरा अर्धचेत अवस्थाका छोराको सुश्रूषामा सधैँझैं व्यस्त थिए। ‘खोइ हामीलाई कसैले खबर गरेको छैन,’ बनेपास्थित घरमा मुकेशकी आमा मीराले भनिन्।
जनआन्दोलन–२ मा कन्चटमा प्रहरीको गोली लागेका मुकेश आठ वर्षदेखि ओछ्यानमै छन्। अहिलेसम्म बोल्न र हिँडडुल गर्न सक्दैनन्। अर्धचेत छोराको स्याहार–सुसार नै दैनिकी बनेको मीराका लागि यस वर्ष गणतन्त्र दिवस आएरनआएकोमा खासै महत्व भएन।
‘मेरोजस्ता हजारौं छोरा घाइते र सहिद बनेर देशलाई लोकतन्त्र दिलाए। तर, खोइ आठ वर्ष पुग्दासमेत हामीले गणतन्त्र महसुस गर्न पाएको ?’, घाइते छोराको अवस्था देखाउँदै उनले भनिन्।
गणतन्त्र दिवसका दिन मुकेश कहाँ छन् भनेर कसैले सोधीखोजी नगरेकोमा उनको मन दुखेको छ। ‘हाम्रा छोराजस्ता हजारौं छोराछोरीको त्याग र बलिदानले आएको लोकतन्त्र र गणतन्त्रमा चुनिएका जनताका प्रतिनिधि फर्केर नआउँदा चित्त दुखेको छु, मीराले भनिन्।
संविधानसभाको दोस्रो चुनावमा काभ्रेबाट प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ३ सभासद् निर्वाचित छन्। निर्वाचनपछि उनीहरूमध्ये कोही पनि मुकेशकहाँ पुगेका छैनन्।
‘सबै राजनीतिक दल पदकै लोभमा लागेका देखिए। अझै संविधान बनाउँदैनन् कि भन्ने शंका लाग्छ। आज ८ वर्ष भइसक्यो, स्थिति सुध्रेला, केही राम्रो होला भन्यो तर यस्ताको उस्तै,’ मीराले भनिन्। नागरिक दैनिकबाट













प्रतिक्रिया