पर्वत । जिल्लाका सामुदायिक वनका उपभोक्ता क्यान्सरको औषधि बनाउन प्रयोग हुने बहुमूल्य जडीबुटीका रुपमा रहेको लोठसल्ला लगाउने अभियान सुरु भएको छ ।
लोठसल्ला बढाउने अभियानअन्तर्गत पर्वतको उत्तरी गाविसमा पर्ने क्याङ गाविसका दुईवटा सामुदायिक वनले यसको विस्तार अभियान थालेका हुन् ।
क्याङ गाविसका रेशपातल सामुदायिक वन र खर्सुवास सामुदायिक वनका उपभोक्ताले एक वर्षपहिले नै बिरुवा रोपेर विस्तार अभियान थालेका हुन् । ती वनका करिब १६० घरधुरीले सामूहिक रुपमा वृक्षरोपण गरेका छन् ।
जडीबुटीमध्ये सबैभन्दा उच्च मूल्य र क्यान्सरजस्तो संवेदनशील रोगको उपचारका लागि प्रयोग हुने जडीबुटी उत्पादनको राम्रो सम्भावना भएकाले वृक्षरोपण गरिएको खर्सुबास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरसिंह पुनले बताउनुभयो ।
लोठसल्लाको बिरुवा रोपेको चारदेखि २० वर्षसम्म राम्रो फाइदा लिन सकिने भएकाले आयआर्जनमा वृद्धिसमेत अपेक्षा राखिएको उहाँले बताउनुभयो । “लोप हुन लागेको बहुमूल्य वनस्पति रोप्ने र यसबाट उपभोक्ताले फाइदा लिने योजना बनाएका छौँ”–उहाँले भन्नुभयो–“पहिले वनमा काठको ठेका बनाउन प्रयोग हुन्थ्यो, अब क्यान्सरको औषधि बनाउन बिक्री गरेर आम्दानी गर्छौं ।”
गत वर्ष तीन हजार बिरुवा रोपेका रेशपातल र खर्सुबास सामुदायिक वनले यस वर्ष पनि थप पाँच हजार बिरुवा रोप्ने योजना बनाएका छन् । यस वर्ष उत्तरी पर्वतका अन्य गाउँ विकास समितिमा तीन हजार बिरुवा रोपिएको छ भने यस वर्ष क्याङसहित लेकफाँट, शालिजा, भुक, चित्रे, आर्थर लगायतका गाउँ विकास समितिका सामुदायिक वनमा आठ हजार बिरुवा रोप्ने योजना जिल्ला वन कार्यालय पर्वतले बनाएको छ ।
उत्तरी पर्वतलाई लोठसल्लाको क्षेत्रका रुपमा विकास गर्नका लागि वृक्षरोपण अभियान थालिएको जिल्ला वन कार्यालय पर्वतकी रेन्जर सरस्वती अर्यालले बताउनुभयो । लिबर्ड पोखराले पनि थप आठ हजार थप बिरुवा रोप्ने योजना बनाएको छ ।
पर्वतमा लोठसल्लाको राम्रो सम्भावना भएकाले यसको विस्तारका लागि गत वर्षदेखि नै जिल्ला वन कार्यालयले प्रयास गरिरहेको छ । अहिले लोठसल्लाको बिरुवालाई प्रतिगोटा रु ४० पर्दछ । यसबाट चार वर्षमा दुई किलो पात टिप्न सकिन्छ । लोठसल्लाको बोटबाट दुई किलोदेखि दुई टनसम्म पात वर्षमा लिन सकिने कार्यालयले जनाएको छ ।
उक्त लोठसल्लाको बजारीकरणका लागि जिल्ला वन कार्यालयले सहयोग गर्नेसमेत बताएको छ । नेपालमा नै डाबर नेपालले लोठसल्लालाई प्रशोधन गरी क्यान्सरको औषधि बनाउने टेक्सोल उत्पादन थालेकाले बजारीकरणमा समस्या नभएको भनाइ कृषकको छ ।













प्रतिक्रिया