काठमाडौं । अर्थमन्त्री रामशरण महत अचेल आफ्नो गाडीमा मन्त्रालय पुग्दैनन्। उनी आफ्नै कार्यकक्षमा पनि धेरै समय भेटिँदैनन्।
आर्थिक वर्ष २०७१/७२ को बजेट तयारीको अन्तिम रफ्तारमा हुइँकिइरहेका महत रहरले कार्यालयमा कम बस्ने र गाडी अन्यत्रै राखेर मन्त्रालय आउने गरेका भने होइनन्।
‘बजेट माग्नेको भिडले अर्थमन्त्री दिनहुँ घेरिनुहुन्छ,’ अर्थका एक उच्च अधिकारी भन्छन्, ‘घेरिएपछि हुने–नहुने आश्वासन दिएर पनि उम्कन हम्मे पर्छ उनलाई।’
ती अधिकारीका अनुसार मन्त्री महत अन्य मन्त्रालयमै गाडी पार्किङ गरेर सकभर धेरैका आँखा छल्दै मन्त्रालय छिर्छन्। कार्यालयमा पनि उनले साबिकको कोठाको सट्टा छुट्टै गोप्य कोठा बनाएर नगरिनहुने बजेट छलफलमा व्यस्त हुने गरेका छन्।
बुधबार मन्त्रालयमा नीतिगत छलफलका लागि मन्त्री महत कार्यकक्षबाट निस्कँदै के थिए, महिला समूहबाट घेरिइहाले। महिला समूहको घेराबाट उम्कन उनलाई हम्मेहम्मे पर्यो। अर्थमन्त्री दिनहुँ यस्तै भिड छिचोल्दै बजेट निर्माणमा व्यस्त छन्।
पछिल्लो समय अर्थमन्त्रीले दिनहुँ ४० भन्दा बढी समूहलाई भेट्ने गरेका छन्। बजेट निर्माणमा तीव्रता पाएसँगै यो समूह बढ्दो क्रममा छ।
बजेट निर्माण गर्ने बेला सांसदसहित विभिन्न संघसंस्थाको लर्को अर्थ मन्त्रालयमा लागेको छ। अर्थमन्त्रीको कार्यकक्षबाहिर, प्रतीक्षालयमा बजेट माग्नेको भिड थामिनसक्नु छ।
विभिन्न दलका सभासद मतदाता नै अघिपछि लगाएर बजेट माग्न मन्त्रालय धाइरहेका छन्। उनीहरु ठूलाभन्दा पनि खुद्रे योजनाका लागि बजेट दबाब दिइरहेका छन्।
‘कोही सडक कालोपत्रे गरिदिन बजेट पारिदिनुपर्यो भन्छन्, कोही खानेपानी चाहियो भन्छन्,’ अर्थका एक अधिकारीले भने, ‘जनता खुसी पार्न तत्कालै बन्ने योजनामा धेरैजसो सांसदको ध्यान छ, त्यसैले सांसदहरुले अर्थमन्त्रीलाई घेरेका छन्।’
सभासदहरु अर्थ सचिव युवराज भुसाल, बजेट महाशाखा प्रमुख वैकुण्ठ अर्यालसम्म पुगेर कार्यक्रम राखिदिन अनुनयरविनय गरिरहेका छन्। मन्त्रालयमा राजनीतिक दलको घेराबन्दीबाट बच्न अर्थमन्त्री महतले आफ्नो सवारीसाधनसमेत अन्तै राखेर आउन थालेका छन्। नागरिक दैनिकबाट













प्रतिक्रिया