जनकपुरधाम । एकतर्फी प्रेममा परेका एक युवकले प्रेमिकाकै घरमा झुन्डिएर आत्महत्या गरेका छन्। पौडेश्वर गाविस ८ स्थायी घर भएर हाल जनकपुरको कदमचोकमा बस्दै आएका २० वर्षीय रामउदय यादवले क्याम्पसचोक ४ स्थित विनोद साहको घरको छतमा रहेको पिलरमा डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
साहको घरमा सोमबार राति फोन गरेर धम्की दिँदै यादवले भनेका थिए, ‘तिम्री छोरीसँग मेरो बिहे भएन भने म तिम्रो घरअगाडि ज्यान दिन्छु।’ साहले यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषामा फोन गरेर आफूलाई धम्की आइरहेको जानकारी गराएका थिए।
राति १२ बजेसम्म त्रासले घरका सबैजना निदाएका थिएनन्। बिहान साढे ५ बजे घरको तल्लो तल्लामा भाडामा बस्नेहरूले यादवको झुन्डिएको देखेपछि होहल्ला गरेका थिए। त्यसपछि उनको मृत्युबारे जानकारी पाएको प्रहरी निरीक्षक हरिनन्दन चौधरीले बताए।
करिब तीन महिनादेखि यादवले साहकी छोरीलाई एकोहोरो प्रेम गर्दै आएका थिए। उनले साहको घरको फोनमा पटकपटक फोन गरेर मानसिक यातना दिने गरेको परिवारका सदस्यले बताए। साहले परिवारलाई मानसिक यातना दिएको भन्दै जिप्रकामा उजुरीसमेत दिएका थिए। उजुरीपछि यादवलाई पक्राउ गरी प्रहरीले उनीमाथि सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट














प्रतिक्रिया