काठमाडौं । सरकारले घरेलु कामदारमा विदेश जाने महिलालाई व्यक्तिगत श्रम स्वीकृति नदिने भएको छ। व्यक्तिगत श्रम स्वीकृतिबाट जाने महिला असुरक्षित हुने र जिम्मेवारी लिने निकाय नभएको भन्दै व्यक्तिगत श्रम स्वीकृति बन्द गर्ने तयारी गरेको हो।
गत वैशाखमा खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलामाथि शारिरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले व्यक्तिगत श्रम स्वीकृति तत्कालका लागि बन्द गरेर अध्ययन समिति गठन गरेको थियो।
श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ संयोजकत्वको समितिले प्रतिवेदन तयार गरे पनि त्यो सार्वजनिक भएको छैन। श्रेष्ठ अहिले श्रम तथा रोजगार मन्त्रालयबाट सरुवा भइसकेका छन्। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले व्यक्तिगत श्रम स्वीकृतिमा धेरै समस्या र गुनासो आएपछि यसलाई पूर्णरुपमा बन्द गर्न लागिएको बताए।
कुराकानीमा गुरुङले विभिन्न मुलुकमा रहेका दूतावासले व्यक्तिगत श्रम स्वीकृति बन्द गर्नुपर्ने सुझाव दिएको र महिला कामदारको गुनासो पनि बढ्दै गएकाले व्यक्तिगत श्रम स्वीकृति बन्द गरेर संस्थागत रुपमा पठाउन पहल गरिने बताए।
राज्य मन्त्री गुरुङका अनुसार कुवेतमा नेपालबाट महिला कामदार मगाएर साउदी पुर्याउने गरेको कुवेतस्थित नेपाली दूतावासले जानकारी गराएको छ। व्यक्तिगत श्रम स्वीकृतिको नाममा दलालले गैरकानुनी रुपमा महिला कामदारलाई विदेश पुर्याइरहेको हुनाले संस्थागत रुपमा पठाउने व्यवस्था मिलाउने उनले बताए। संस्थागत रुपमा पनि गन्तव्य मुलुकमा श्रम सम्झौता नभएसम्म महिला कामदार नपठाइने राज्यमन्त्री गुरुङले स्पष्ट पारे। नागरिक दैनिकबाट













प्रतिक्रिया