कालिका खड्का
काठमाडौँ । “कमलपित्त भएको थाहा पाउनेबित्तिकै आयुर्वेदिक औषधि खाएँ” नयाँ सडककी ३८ वर्षीया मुना लामाले भन्नुभयो, “एकहप्तामै मलाई ठीक भयो ।”
“ज्वरो आएको जस्तो भएको थियो, अस्पताल जाने तयारी गर्दा कमलपित्तका लागि आयुर्वेदिक औषधि राम्रो भन्ने सुनेकी थिएँ,” उहाँले थप्नुभयो, “कुपनटोलको गुरुद्वारा नजिक विशेष आयुर्वेदिक केन्द्रमा गएर आयुर्वेदिक औषधि खाएको एक हप्तामै पूर्ण रुपमा ठीक भयो ।”
सामायन्तया मानिसको शरीरमा १.४ एमजी बिलुरुबिन (रगतमा हुने मृतकोषिका) हुनुपर्नेमा मुनाको बिलुरुविन सात एमजी पुगिसकेको थियो तर पछि ठीक भयो । मुना मात्र हैन, कमलपित्तका बिरामीका कारण अस्पताल धाउँदा धाउँदा ठीक नभएर गुल्मी जयखानी–८ का २२ वर्षीय दिलबहादुर श्रीषलाई पनि आयुर्वेदिक औषधि दुई हप्ता खाएपछि ठीक भएको छ, जडिबुटीका लागि उहाँलाई रु दुई हजार मात्र लाग्यो ।
“पहेँलो रोगका कारण मलाई निकै गाह्रो भइसकेको थियो” उहाँले सुनाउनुभयो, “वीर अस्पताल जाँदा पनि गए ठीक भएन तर विशेष आयुर्वेदिक केन्द्रमा गएर एक हप्ता औषधि आएपछि अहिले निको भयो ।”
मुना र दिलबहादुरजस्तै बर्दियाका १८ वर्षीय निराजन चौधरीलाई कमलपित्त रोगका कारण विलुरुविन २७.३ पुगिसकेको थियो तर दुई हप्ता आयुर्वेदिक औषधि सेवनपछि सामान्य १.४ एमजी अवस्थामा आयोे ।
“निकै गाह्रो भइसकेको थियो, तर आयुर्वेदिक औषधि खाएपछि ठीक भयो” चौधरीले भन्नुभयो, “स्वास्थ्यका लागि जडिबुटीयुक्त औषधि खानुपर्ने रैछ, सस्तो र राम्रो पनि ।”
मोरङमा महामारीका रुपमा कमलपित्त फैलिएर अहिले राजधानीमा समेत देखिएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको पाइएको छ ।
“कमलपित्त जडिबुटीबाट एकदेखि तीनहप्तासम्म निको हुने रोग हो, “कुपनटोल गुरुद्धारास्थित विशेष आयुर्वेदिक केन्द्रका प्रमुख वैद्य गणेशबहादुर राउतले भन्नुभयो, “पछिल्लो समयमा कमलपित्त रोग फैलिएपछि एक सयभन्दा बढीको उपचार गरिसकेँ तर सबैको एकदेखि दुईहप्तासम्म ठीक भएको छ ।” राउत नरदेवी आयुर्वेदिक क्याम्पसमा अध्ययन गरेर २५ वर्र्षदेखि केन्द्र सञ्चालन गरी कमलपित्त, मिर्गाैला, कलेजोको आयुर्वेदिक उपचार गर्दै आउनुभएको छ ।
“कमलपित्त रोगमा खासगरी शरीरको सबै भागमा पहँेलै देखिन्छ, त्यसले मानिसको शरीरमा रातो रगत उत्पादनमा अवरोध पु¥याउँछ” उहाँले जोड्नुभयो,“जडिबुटी मिलाएर बनाएको आयुर्वेदिक औषधिले शुद्धीकरण गर्ने काम गर्छ, यसले मानिसको शरीरलाई असर पनि गर्दैन ।”
“दुःखको कुरा नेपालको मोरङ जिल्लामा हेपाटाइटिस ‘इ’ र ‘ए’ फैलिएको छ” उहाँले भन्नुभयो, “त्यहाँ आयुर्वेदिक औषधि पु¥याउन सकेमा एक हप्तादेखि तीन हप्तासम्म पूर्ण रुपमा निको गर्न सकिन्छ, तर सरकारले आयुर्वेदिक क्याम्पस र आयुर्वेदिक अस्पतालमा लगानी गरे पनि त्यसको उचित रुपमा उपयोग गर्न सकेको छैन ।”
“कमलपित्त रोग कलेजो र पाचनप्रक्रियासँग सम्बन्धित हुन्छ, कमलपित्त भएपछि रातो रक्तकोष नष्ट हुन्छ, खान मन लाग्दैन, शरीरभरि नै पहेँलो हुन्छ” राउतले भन्नुभयो, “कमलपित्त रोग दुई प्रकारका हुन्छन्, पानी र खानाबाट लाग्ने भाइरसबाट, यो अरुलाई पनि सर्छ तर पानीको कमीजस्ता कारणले मानिसको शरीरबाट उत्पन्न भएको कमलपित्त सर्दैन ।”
कमलपित्त भएमा खाना खान मन नलाग्नु, बढी अल्छी लाग्नु, आँखा र हातको नङ तथा पूरै शरीर पहेँलो देखिनु, दिसा गुइँठो हुनुजस्ता लक्षण देखा पर्छन् । वैद्य राउतका अनुसार आयुर्वेदिक औषधिको सेवनले दिसा र पिसाबबाट पहेँलो विकार पदार्थ बाहिर निस्कन्छ र बिस्तारै ठीक हुन्छ ।
धुवाँधुलोबाट बच्ने, बासी, काँचो र सडेगलेका खानेकुरा नखाने, उमालेको तथा प्रशोधित पानी पिउने गर्नाले कमलपित्तबाट बच्न सकिन्छ । वैद्य राउतले भन्नुभयो, “सहरमा मानिसहरु सडकमा बेचेका खानेकुरा, फलफूल खान्छन्, सलाद भनेर काँचो फलफूल खाने चलन छ, जुन राम्ररी पखालेको हुँदैन, त्यस्तो खानेकुरा सकेसम्म खान हुँदैन ।”
“कमलपित्त लागेका केन्द्रमा उपचार गर्न आएका ९९ प्रतिशतलाई निको भएको छ, आफूले उपचार गर्न नजानेको विषयलाई म छुँदै छुन्न तर जानेको विषयलाई पूर्ण रुपमा ठीक गरेको छु”–उहाँले भन्नुभयो ।
“विश्वमा कनै देशमा नपाइने जडिबुटी नेपालमा पाइने भए पनि पुर्खाहरुले संरक्षण र प्रवद्र्धन गर्दै आइरहेका जडिबुटी बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।” वैद्य राउतले थप्नुभयो, “नेपालका हिमाली भेगमा पर्याप्त मात्रामा जडिबुटी पाइन्छ, जुन उत्तम मानिन्छ ।”
“पुर्खाहरु आयुर्वेदिक औषधि खाएर लामो आयु बाँच्थे, उनीहरुलाई आधुनिक चिकित्साका बारेमा जानकारी नै थिएन” उहाँले भन्नुभयो, “सस्तो, गुणस्तरीय, शरीरलाई कुनै असर नपार्ने भएकाले आयुर्वेदिक उपचारलाई सरकारले प्रवद्र्धन गर्नुपर्छ ।”
“वैद्य काम गर्ने पुर्खाले परापूर्वकालदेखि अनेक वनस्पतिजन्य औषधि तयार गरी विभिन्न खालको उपचार गर्दै आइरहेका छन्”, विगत स्मरण गर्दै उहाँले भन्नुभयो, “सरकारले आयुर्वेदमा लगानी गरेर पनि आधुनिक महँगो चिकित्सा विज्ञानलाई महत्व दिनु र आयुर्वेदिकलाई ध्यान नदिनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ ।” रासस













प्रतिक्रिया