काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको निर्वाचन सुरु भएको छ ।
बिहान ८ बजेदेखि सुरु भई १२ बजेसम्म जारी रहने मतदानको समय तोकिएको छ । कार्यसमितिको अध्यक्षमा भने वर्तमान अध्यक्ष कमल थापा र सहअध्यक्ष पदमसुन्दर लावती तथा केन्द्रीय सदस्यका लागि २२३ जना प्रतिश्पर्धामा हुनुहुन्छ ।
गएको शनिबारदेखि सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा मंगलवार अध्यक्ष तथा ५० प्रतिशत सदस्यको प्रत्यक्ष निर्वाचन गर्न लागिएको हो । सो चुनावमा दुई हजार २०० मतदाताले मतदान गर्ने सहमहामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
महाधिवेशनको जारी बन्दसत्रमा विधान संशोधन गरी केन्द्रीय कार्यसमितिको निर्वाचनको व्यवस्था गरिएको र एक अध्यक्ष तथा ६३ सदस्यका लागि आज चुनाव भएको हो ।
संशोधन गरिएको विधानमा १२७ सदस्यीय केन्द्रीय कार्यसमिति व्यवस्था गरिएको, त्यसमा ५० प्रतिशत सदस्य नवनिर्वाचित अध्यक्षले क्षेत्र, भुगोल तथा सङ्गठन निर्माणमा योगदान गरेका नेतालाई सन्तुलित ढंगले मनोनयन गर्ने व्यवस्था छ ।
पार्टीलाई समावेशी बनाउनका लागि २० जना केन्द्रीय सदस्यलाई दलित, जनजाति, मधेसी, मुसलमान, पिछडिएका वर्ग, सीमान्तकृतको आधारमा आरक्षणको व्यवस्था गरिएको छ ।













प्रतिक्रिया