काठमाडौं । संविधानसभा उपनिर्वाचनका लागि चार क्षेत्रमा १० महिलासहित ८१ जनाले आइतबार उम्मेदवारी दर्ता गरेका छन्। विभिन्न राजनीतिक दलका ६४ र स्वतन्त्र १७ उम्मेदवार रहेको निर्वाचन आयोगका प्रवक्ता गणेश राईले जानकारी दिए।
असार ८ गते हुने निर्वाचनका लागि काठमाडौं २ मा सबैभन्दा बढी ३७ जनाको उम्मेदवारी परेको छ। यसमा राजनीतिक दलका २४ र स्वतन्त्र १३ छन्। तीमध्ये तीन महिला छन्। चितवन ४ मा सबैभन्दा कम १२ जनाको उम्मेदवारी परेको छ। यहाँ राजनीतिक दलका ११ र स्वतन्त्र एकजना उम्मेदवार छन्। बर्दियामा १२ राजनीतिक दल र एक स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको छ। कैलालीमा १९ जनाले मनोनयन दर्ता गराएका छन्। यस क्षेत्रमा १८ राजनीतिक दलले उम्मेदवारी दिएका छन्, जसमध्ये तीन महिला उम्मेदवार छन्।
मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा दुई स्थानमा विजयी हुने उम्मेदवारले छाडेका स्थानका लागि उपनिर्वाचन हुन लागेको हो। कांग्रेसका सभापति सुशील कोइराला र शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम दुई–दुई निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।
एमालेका नेपाल निर्वाचित काठमाडौं २ मा नेपाली कांग्रेसका दीपक कुइँकेल, एमालेका कृष्णगोपाल श्रेष्ठ, एकीकृत माओवादीका लीलामणि पोखरेलले उम्मेदवारी दिएका छन्। यहाँ राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका नवराज सिंखडा र राष्ट्रिय प्रजातन्त्र पार्टीका मिजेन्द्रकाजी श्रेष्ठ उम्मेदवार छन्। प्रमुख राजनीतिक दलले उम्मेदवार बनाएका सबै नेता यसअघिको संविधानसभा निर्वाचनमा पराजित भएका थिए।
दोस्रो संविधानसभा निर्वाचनमा माओवादीका पोखरेल र राप्रपा नेपालका सिंखडा त्यसै क्षेत्रमा पराजित भएका थिए भने एमाले उम्मेदवार श्रेष्ठ काठमाडौं ९ मा पराजित भएका थिए। कांग्रेस क्षेत्रीय सभापति कुइँकेल पहिलो संविधानसभा चुनावमा त्यसै क्षेत्रमा पराजित भएका थिए।
उम्मेदवारी दर्ताका लागि रत्नपार्कस्थित शान्तिबाटिकाबाट बाजागाजासहित उम्मेदवारहरू निर्वाचन आयोगको कार्यालय रहेको राष्ट्रिय सभागृह पुगेका थिए। सबैभन्दा पहिले नेकपा संयुक्तका सुरेश भट्टराईले उम्मेदवारी दर्ता गराए। त्यसपछि एकीकृत माओवादीका पोखरेलले दर्ता गराए। यो क्षेत्रमा ६३ हजार ७ सय ८५ मतदाता छन्।
काठमाडौं २ मा नेपालले २१ हजार ७ सय ४८ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रतिमा गौतमले १२ हजार ४ सय ७५ मत ल्याएकी थिइन्। नागरिक दैनिकबाट













प्रतिक्रिया